कास्की जिल्लामा वन विज्ञान बिषयकाको पढाइ सञ्चालन गर्दै आएको जानकारी माध्यमिक विद्यालयले यतिखेर पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको छ । विद्यालयले बिदाको समय सदुपयोग गर्दै विद्यार्थीलाई बाँसका सामाग्री निर्माण गर्ने तामिम सञ्चालन गरिएको हो ।
तालिममा कक्षा ९ र १० मा अध्ययनरत २० विद्यार्थीको सहभागिता रहेको सहायक प्रधानाध्यापक एवं प्रशिक्षक कमलप्रसाद आचार्यले जानकारी दिए । पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले तालिम सुरुआत गरिन् । उनले विद्यार्थीले उत्पादन गरेका साम.ग्री औपचारिक कार्यक्रममा उपहारका रुपमा प्रयोग गरिने जनाइन् ।
सामुदायिक विद्यालयमा गुणस्तरीय, प्राविधियुक्त एवं आयआर्जन गर्ने शिक्षाले भविष्यका कर्णाधार विद्यार्थीको मेरुदण्ड भएको उल्लेख गर्दै उनले आयआर्जनका लागि सीपमूलक कार्यक्रममा वडा स्तरबाट आर्थिक तथा बजारिकरणमा सहयोग गर्ने प्रतिवद्धता गरिन् । ‘विद्यालय आवश्यक कच्चा पदार्थमा आत्मनिर्भर बन्नु अपरिहार्य छ,’ उनी भन्छिन्, ‘स्थानको व्यवस्था गर्नुहोस्, आवश्यक बाँसका विरुवा वडाबाट उपलब्ध हुन्छन् ।’
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक अर्जुन कँडेल, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र शर्मा, बाल क्लव अध्यक्ष मोनिका पौडेल, प्रशिक्षक कमल आचार्य, शिक्षक तुलसी गिरी लगायतले व्यवसायिक शिक्षामा जोड दिएका थिए ।






