पर्वतको दुई नगरपालिकामा राजनीतिक विवाद रहदा नगरसभा सम्पन्न हुन सकेको छैन । नगरपालिकाका सदस्यहरु विच राजनीतिक स्वार्थको टकरावले कार्यपालिका वैठकमै वार्षिक कार्यक्रम तथा बजेट तयारीको प्रतिवेदन समेत पेश हुन नसकेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गते भित्र नगरसभा सम्पन्न भैसक्नु पर्ने भनिए पनि जिल्लाका कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा साउनको पहिलो हप्ता सकिन लाग्दै गर्दा समेत नगरसभा सम्पन्न हुन सकेको छैन । नगरपालिकामा प्रतिनिधित्व गर्ने सदस्यहरु विच राजनीतिक स्वार्थ बाझिए पछि नगरसभा कहिले सम्पन्न हुने भन्ने कुरा नै अन्यौल बनेको हो । नगर सदस्यहरुले आ–आफ्नो स्वार्थ अनुसारको बजेट र योजनाको माग गर्दै आएका छन् ।
कुश्मा नगरपालिकाको लागि नगरप्रमुखमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवारी दिई चुनाव जितेका रामचन्द्र जोशी प्रमुख रहे पनि नगरसभामा भने उपप्रमुख सहित बहुमत सदस्य नेकपा एमाले पार्टीबाट उम्मेदवारी दिइ आएकाहरुको बहुमत छ । बहुमत सदस्यको नगरप्रमुख जोशी प्रक्रियागत ढंगले अगाडि आउन नचाहेको र एकलौटी तवरले बजेट बाँडफाँड गर्न खोजेको आरोप लगाएका छन् । प्रमुख जोशीको भने बहुमतको आडमा आफूलाई काम गर्न नदिएको गुनासो छ ।
नियमानुसार आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार दश गते भित्र सभामा पेश गर्नुपर्ने हुन्छ । वडास्तरबाट तर्जुमा भई आउनु पर्ने प्रायजसो विकासका योजना र कार्यक्रम नगरपालिकाको विषयगत समितिसम्म नै आइपुगेका छैनन् ।
नगरसभा सम्पन्न हुन नसकेपछि नगरपालिकाले आव ०८०÷८१ का लागि आयव्ययको हिसावकिताव राख्न सकेको छैन । कुश्मा नगरपालिकाका सुचना अधिकारी धु्रवराज पौडेलका अनुसार १४ वटै वडालाई आम्दानी र व्ययको कुनै पनि कारोवार नगर्न भनी पत्राचार गरी सकिएको छ । कुश्मा नगरपालिकाको कार्यपालिका वैठक समेत यसअघि नियमानुसार मासिक रुपमा हुन सकेको छैन । कार्यपालिका बैठक नै हुन नसकेपछि योजना तर्जुमा समितिले वार्षिक कार्यक्रम तथा बजेट तयारीबारे कुनै कार्य नै गर्न सकेको छैन । नगरपालिकाका बहुमत सदस्यहरुको आरोप नगरप्रमुखले एकतर्फी पोका बजेट ल्याउन खोजेको भन्ने छ । स्थानीय जनताको प्राथमिकताको आधारमा वडा तहबाट नै विकासको योजना तर्जुमा भैइ विषयगत समितिमा ल्याइनुपर्नेमा पालिकाको अधिकांश वडामा वडास्तरीय योजना तर्जुमा नै हुन सकेको छैन । कुश्मा नगरपालिकाको आव २०७८÷७९ सम्मको फछ्यौट हुन बाँकी बेरुजु रकम १९ करोड ५ लाख रहेको छ ।
जिल्लाको फलेवास नगरपालिकाले पनि आगामि वर्षको वार्षिक कार्यक्रम तथा बजेटको तयारी कार्यपालिका वैठकमा पेश गर्न सकेको छैन । यसले पालिकाको नगरसभा कहिले सम्पन्न हुन्छ भन्ने नै एकीन छैन । नगरपालिकाको यस अघिको क्लिन सिटी, ग्रिन सिटी कार्यक्रमलाई अगाडि बढाउने या नबढाउने भन्ने विषयमा नगर सदस्यहरु विच विवाद रहदै आएको उपप्रमुख शोभा क्षेत्रीको भनाई छ । फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री भन्नुहुन्छ–“नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक उपप्रमुख रहने व्यवस्था भए पनि नगर प्रमुखले वेवास्ता गरी एकतर्फी अगाडि बढ्न खोज्नु भएको छ । माटोमा श्रम र पसीना खर्चिने न्यून आय भएका कृषकको हितमा हुने कृषि कार्यक्रम ल्याउनु पर्छ भन्दा प्रमुखले वेवास्ता गर्नु बल मिच्याई हो ।” फलेवास नगरपालिकाको आव २०७८÷७९ सम्मको फछ्रयौट हुन बाँकी बेरुजु रकम १३ करोड ६४ लाख रहेको छ । पर्वतका सात स्थानीय पालिका मध्ये दुई नगरपालिकालाई छाडेर अन्य ५ वटा गाउँपालिकामा नगरसभा सम्पन्न भैसकेको छ ।




