पोखरा महानगरमा बढी जनसंख्या भएको वडा हो पोखरा १७ । वडा नं. १७ ले अहिले भाडाको घरबाट सेवा दिइरहेको छ । सबै वडामा आफ्नै भवन बनाउने महानगरको योजना अनुरुप पोखरा १७ ले उपत्यका नगर विकास समितिको ड्यामसाइडमा रहेको जग्गामा सुविधा सम्पन्न भवन बनाउने भएको छ ।
५ रोपनीमा ५ करोड ३२ लाख ५४ हजार लागतमा भवन बनाउन नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भइसकेको छ । ३ तले वडा कार्यालयको भवन अपांगमैत्री हुनेछ । महानगरका मेयर धनराज आचार्यले शुक्रबार वडा कार्यालय भवन शिलान्यास गरे । उनले पोखराको समग्र विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
मेयर आचार्यले आगामी ४ वर्षमा महानगरको प्रमुख प्रशासकीय भवनका साथै सबै वडाका कार्यालयमा सुविधा सम्पन्न भवन निर्माण गरिसक्ने प्रतिवद्धता जनाए । ‘तोकिएको समयमा निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्न पनि महानगर पछि पर्दैन’, मेयर आचार्यले भने, ‘पोखराको विकासमा सबैले सत्यतथ्य र सकारात्मक सोचका साथ सहयोग गरिदिन हुन आग्रह गर्दछु ।’ उनले सोही स्थानको करिब ४२ रोपनी जग्गामा १ अर्व ५२ करोड लागतमा महानगरको प्रमुख प्रशासकीय भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए ।

उपमेयर मञ्जुदेवी गुरुङले भवन निर्माणसँगै वडावासीलाई सेवा प्रवाहमा थप सुविधा पुग्ने विश्वास व्यक्त गरिन् । विकास निर्माणका काममा वडावासीको चासो र निगरानीले पारदर्शिता र विश्वासनियतासँगै अपनत्व महसुस गराउने उनको भनाइ छ ।
पोखरा १७ की अध्यक्ष राधिका शाही योगीले नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता हुने औंल्याइन् । उनले भनिन्, ‘अहिले राजमार्गसँगैको भाडाको घरमा हुँदा कठिनाइ भएको छ । डेमसाइडमा ५ रोपनीमा आफ्नै भवन तयार भएपछि सबै खालका सेवाग्राहीलाई एकातिर सहज हुन्छ भने अर्कातिर प्रशासनसहित प्रदेशका मन्त्रालयहरु पनि नजिकै हुँदा थप सहज हुनेछ ।’
कार्यक्रममा पोखरा २ का अध्यक्ष दिवसमान प्रधानांग, पोखरा १७ की वडा सदस्य तारा सेवा लगायतले बोलेका थिए ।




