साकियो काठेखोलाको विवाद, केन्द्र सामबोटमा बन्ने

पोखरा, १६ असार

बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद ७ वर्षपछि टुंगिएको छ । यो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण भएको छैन ।

प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको थिएन । हालैको कार्यपालिका बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्दै आएका थिए ।

अहिले पालिकास्तरीय अस्पताल, प्रहरी चौकी अक्षते र बहुउद्देश्यीय सभाहल तथा आयुर्वेदिक अस्पताल सुलडाँडामा बनाउने सहमति भएपछि सामबोटमा प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बताए । सामबोटमा भवन बनाउनका लागि कार्यपालिका बैठकले निर्णय गरी १३ औँ गाउँसभाबाट पारितसमेत गरेको छ । भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०÷८१ मा १ करोड रकम विनियोजन भएको छ ।