विद्यार्थीसँग असार १५

सिद्धेश्वर बहुउद्देशीय कृषि सहकारी पोखरा १७ ले फरक तवरले असार १५ मनाएको छ । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सहकारीले शुक्रबार महतगौडाको विरुवा फाँटमा विद्यार्थीसँग विविध कार्यक्रम गरेको हो ।

असार गीत प्रस्तुति, चित्रकला प्रतियोगिता र अन्य खेलकुदका कार्यक्रम भएका छन् । कार्यक्रममा पोखरा १७ की अध्यक्ष राधिकाकुमारी शाही योगीले अबको कृषि निर्वाहमुखीबाट व्यावसायिक बनाइनुको विकल्प नभएको उल्लेख गरिन् । उनले कृषिमा प्रविधिको प्रयोगमा जोड दिँदै जीवनभर जीवन कृषि कर्ममा समर्पित भएका असली किसानलाई सम्मान गर्न पाउँदा गौरव बोध भएको सुनाइन् ।

वडा सदस्य शिवराम भण्डारीले कृषिमा परनिर्भरता नहटाएसम्म स्वाधीन अर्थतन्त्र बन्नै नसक्ने जनाए । सहकारीका अध्यक्ष शंकर भण्डारीले भविष्यमा पनि यस्तै खालका कार्यक्रम गरी विद्यार्थी र युवा पुस्तालाई कृषिमा आकर्षण गर्ने र कृषकप्रति सम्मानको भावना जागृत गराइने उल्लेख गरे ।

कार्यक्रम संयोजक सुभाष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीबीच चित्रकला र माछा समात्ने प्रतियोगितासमेत भएका छन् । कार्यक्रममा जानकी मावि र ढुंगेसँ बोर्डिङ स्कुलका विद्यार्थीसहित स्थानीय सहभागी थिए ।

सो अवसरमा सहकारीका सचिव पवन भण्डारीले पनि बोलेका थिए । स्थानीय श्रीराम भण्डारीको खेतमा भएको कार्यक्रममा सहभागीलाई परम्परागत रुपमा असार १५ मा खाइने दही चिउरा र सेल खाजा खुवाइएको थियो ।