प्याराग्लाइडिङ शुल्कमा भारी वृद्धि

पोखरामा हुने प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)ले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो ।

हाल प्रतिउडान ८ हजार ५ सय शुल्क तिर्दैआएकामा अबदेखि १२ हजार तिर्नुपर्ने भएको छ । यो वृद्धि ४१ प्रतिशत हो । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनील भट्टराईले उक्त शुल्कमा बिमा रकम र पाइलटको खर्च समाहित हुने जनाए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनी दाबी गर्छन् । पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुंगा पुगेको छ । यही कारणले खर्च बढेको भट्टराईले दाबी गरे ।

अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडान ६ हजार हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए । उनले भने, ‘पहिला ३ हजार ९ सय पाउथे ।’ नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् ।

तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले बताए । सबै कम्पनीमा गरी ३सय ७५ लाइसेन्स प्राप्त प्याराग्लाइडिङ पाइलट छन् ।