समालोचक प्राडा रामचन्द्र पोखरेल नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । उपराष्ट्रपति कार्यालय लैनचौरमा मंगलबार आयोजित समारोहमा पोखरेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्मान गरे ।
पुरस्कार राशि १ लाख १ रुपैयाँ र सम्मानपत्र छ । नाट्य समालोचक तथा अनुसन्धानदाता पोखरेल नेपाल नाट्य प्रतिष्ठान पोखराका अध्यक्षसमेत हुन् । ३ दशकदेखि यो क्षेत्रमा क्रियाशील पोखरेलका नाटकसम्बन्धी ७ पुस्तक प्रकाशित छन् । उनी सिक्किम विश्वविद्यालयका अतिथि प्राध्यापक पनि हुन् ।
सम्मानित भएपछि प्राडा पोखरेलले प्रतिष्ठानले गरेको सम्मानले आफूमा ऊर्जा थपेको जनाउँदै प्रतिष्ठानले उद्देश्य अनुरुप धेरै काम गर्न बाँकी रहेको जनाए । उनले नेपाली संगीत र नाटकको अनुसन्धान केन्द्र र सर्जकको संरक्षकको रुपमा प्रतिष्ठान स्थापित हुनुपर्ने जनाए ।
कार्यक्रममा उपराष्ट्रपति यादवले मुलुकको हिमाल, पहाड र तराई–मधेसमा बसोबास गर्ने विभिन्न जाति, भाषा, वर्ग, समुदायको मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा समग्र राज्यको ध्यान जानुपर्ने बताए । उनले गीत, संगीत र नाट्य विधाको संरक्षण, सम्वद्र्धनसहित सर्वाङ्गीण विकास तथा अध्ययन, अनुसन्धानमा अहोरात्र खटिने सर्जकलाई सम्मानित गर्न कन्जुस्याइँ गर्न नहुने धारणा राखे ।
समारोहमा वरिष्ठ संगीतकर्मी विजयकुमार श्रेष्ठ, वरिष्ठ गायक गीतकार तथा संगीतकार गणेश रसिक, वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली, वरिष्ठ लोकगायक नवीन किशोर राई र वरिष्ठ रंगकर्मी भैरव क्षेत्रीसमेत सम्मानित भएका थिए ।




