गजल गोविन्द : एक सूक्ष्म अवलोकन

यतिबेला म असमका चिराङ जिल्लाका गजलकार, कवि, हाइकुकार श्री गोविन्द शाण्डिल्यको गजल सङ्ग्रह “गजल गोविन्द” मा तल्लीन छु।

“गजल गोविन्द” शाण्डिल्यको बाह्रौं कृति तथा तेस्रो गजल सङ्ग्रह हो। नेपाली साहित्य जगतमा “अनाश्रित” उपनामले ख्यात शाण्डिल्यको गजल सङ्ग्रह आफ्ना सहोदर भाइ वासुदेव शाण्डिल्य,जसलाई अकालै ईश्वरले आफ्नो बनाउन रुचाएर यो धर्तीबाट लग्ये उनीप्रति समर्पित भएको छ। सन २०२ २मा प्रकाशित उक्त कृतिमा मोठ ८१ वटा गजल समावेश भएका छन् भने कृति ईशानज्योति प्रकाशनले प्रकाशित गरेको छ। कृतिको मोल १६० रहेको छ र सर्वाधिकार ग्रन्थकारमै रहेको छ।
कविता, हाइकु हुँदै गजको मोहमा मोहित हुने शाण्डिल्यले १२ भन्दा बढी कृति नेपाली साहित्यमा भित्राएका छन् भने पुस्तकहको सम्पादनामा पनि उनी सिद्धहस्त देखिन्छन् ।

गजलको अर्थ:

“दुइ आँखिभौ त तयार छन् , तरवार पो किन चाहियो
तिमी आफू मालिक भै गयौ,सरकार पो किन चाहियो।”

नेपाली गजलका जनक मानिने मोतीराम भट्टद्वारा विरचित उपरोक्त पंङ्तिमा नारी सौर्न्दर्यको वर्णन गरिएको छ। शृङ्गार रसलाई बढी महत्व दिएर लेखिएका मोतीरामका गजलमा प्रेमालाप, विरह, देशभक्ति , प्रकृतिको वर्णन , हँसी-मजाक,ठट्यौली आदि शृङ्गार रसका भावहरू भरपुर पाइन्छन् । पाइन पनि स्वाभाविकनै हो, किनकि गजल भनेकै प्रेमलाप हो, प्रेयसीसँगको वार्तालाप हो।

अरबी भाषाका तीन अक्षर ग-ज-ल बाट “गजल” शब्द बनेको हो भनेर विद्वानहरूले किटान गरेका छन् ।
‘ग’ भनेको वाणी, ‘ज’ भनेको नारी अनि “ल” भनेको सामिप्य हो। अर्थात रमणीको सामिप्यलाई गजल भनिन्छ। अहिले गजल अरबी भाषामा मात्रै केन्द्रित नरहेर फ्रान्सेली ,उर्दु , हिन्दी हुँदै नेपाली भाषामासम्म आइपुगेको छ र गजलको यस लामो यात्रामा यसले विभिन्न विषयहरू पनि अपनाइसकेको छ। आजभोलि गजल प्रेम-प्रणायको घेरादेखि बाहिर निस्किएर स्वतन्त्र भइसकेको छ, तर स्वतन्त्र हुँदै गजल आफ्नो स्थानबाट अलिकति पनि विचलित भएको छैन।

गजलले आफ्ना प्रयोजनीय तत्व र घटकहरूलाई बरोबर आफ्नै ठाउँमा राखेको छ। समय र समाजसँग सँगै गजलले पनि नयाँ पाउला फेरेको छ। आजको गजलमा समाज बोलेको हुन्छ, हुङ्कार गर्छ, परिवर्तनको लागि माग गर्छ आजको गजलले। अन्याय उत्पीडन,कुसंस्कार र अन्धविश्वासको कारागार भाँचेर सत्य, शान्ति र समानताको लागि आह्वान गर्दछ आजको गजलले। जसरी गरेका छन् शाण्डिल्यका गजलले। उनका गजलहरूले पनि आधुनिकताको बाटो अपनाएका छन् , समानताको गुहार गरेका छन् ।

गजल कविताकै एउटा विधा हो। कविताका विभिन्न विधा उपविधा हुन्छन् , त्यसमा गजल अन्यतम हो। यसलाई गीत जसरी गाउन सकिन्छ र कविता जसरी वाचन पनि गर्न सकिन्छ। गजल निर्दिष्ट नियममा लेखिन्छ , यसको छुट्टै बनावट हुन्छ , यसमा लय हुन्छ जसलाई गजलीय भाषामा “बहर” भनिन्छ। लय भएको हुनाले यो ग्येयतात्मक हुन्छ। सोरमा गाउन सकिने हुनाले यो धेरै प्रिय र प्रभाकारी हुन्छ। त्यसैले त श्रोताहरू तल्लीन भई सुन्छन् । आज सायदै यस्ता कुनै व्यक्ति होलान् जसलाई पंकजजीको, गुलाम अली खानजीको अथवा जगजीतजीको गजल मनपर्दैन।

२. गजलका प्रयोजनीय तत्व:
गजल कविताजस्तो मुक्त हुँदैन। यो छुट्टै ढाँचामा लेखिन्छ र यसका कतिपय प्रयोजनीय घटकहरू हुन्छन् त्यीमध्ये काफिया, रदिफ ( तर आजभोलि रदिफ प्रयोग नगरीकन पनि गजल लेखिन्छन्) र सेरचाहिँ गजलका एकदमै अनिवार्य तत्व हुन्। अरबी भाषामा बारम्बार आउने अथवा दोहोरिने शब्दलाई काफिया भनिन्छ। गजलमा अनुप्रासिक शब्दहरू प्रत्येक दुई हरफपछि दोहोरिने गर्छन् , तीनै शब्दलाई काफिया भनिन्छ भने रदिफचाहिँ गजललाई आकर्षक र मनोग्राही पार्न पदान्तमा पुनरावृत्ति हुने शब्द हुन् । कुनै कुनै गजल रदिफ बिना पनि लेखिछन् , त्यसरी लेखिने गजललाई गैरमुरद्दफ गजल भनिन्छ भने रदिफ प्रयोग भएको गजललाई मुरद्दफ गजल भनिन्छ।

हिन्दीको दोहामा जसरी प्रत्येक दुई हरफको पंङ्तिलाई एक चरण भनिन्छ त्यसैगरी गजलको प्रत्येक दुई हरफको समूहलाई सेर भनिन्छ। एउटा दोहामा जसरी पाँच चरणदेखि पच्चीस चरणसम्म हुन्छन् सोही अनुरूप गजल पनि पाँचदेखि एक्काइस ( कुनै कुनै पुस्तकमा न्यूनतम तीन,अधिकतम एक्काइस लेखिएको पाइन्छ ) सेरहरूको समूहले बन्दछ। सेरका अतिरिक्त मतला, मकता, मिसरा, बहर, तकाबुल आदि गजलका अनिवार्य तत्वहरू हुन् ।

विषय प्रवेश-:
२००६ सनमा “गजल गान्धार” बाट आफ्नो परिचय गजलकारको रूपमा गराएपछि २०११ मा दोस्रो गजल सङ्ग्रह “मृगतृष्णा” प्रकाशित गरी २०२२ मा फेरि “गजल गोविन्द” लिएर शाण्डिल्य हामीबीच पुनः गजलकारको रूपमा देखापर्छन्। असमिया, नेपाली, बङ्ला तीनवटै भाषामा गीत,कविता ,हाइकु रचना गरी आफ्नो परिचय दिए पनि शाण्डिल्यलाई हामी एकजना गजलकार भन्ननै अधिक रुचाउँछौँ। अथवा उनको नाउँ अघि गजलकार शब्द नै सुहाउँदो लाग्छ । त्यसैले यहाँ पनि उनको तेस्रो गजल सङ्ग्रहको समीक्षा गर्न गइरहिएको छ।

“गजल गोविन्द” हिजोआजको जस्तै आधुनिक गजल सङ्ग्रह हो। अर्थात यस कृतिले गजल,”रमणीय सामीप्य” अथवा रमणीयसँगको वार्तालापमात्र हो भन्ने पुरानो परम्परालाई तोड्दै नयाँ बाटो अपनाएको छ। कुनै साहित्यकारको भूमिकाले नसजिएको “गजल गोविन्द” मा आधुनिक गजलीय छाप पाइन्छन् । अर्थात उनका गजलमा समाजनीति, राजनीति, देशप्रेम, प्रकृतिप्रेम ,भ्रातृस्नेह, प्रेमप्रणय आदि भावनाहरू पाइन्छन् । साथै उनका गजलमा परिवर्तनको माग, विद्रोह, आक्रोशका उद्गारहरू पनि उत्तिकै पाइन्छन् । उनी एकठाउँ यसरी भन्छन्__

“सीमना रुङ्ने सिपाही साथी गर्दैछ संघर्ष
मुटुमा आफ्नु देशको माटो पर्खिनु जरुर।।

चुसेर खुन अमीर हुन पल्केका जमात
श्रमिक अब छैन है लाटो पर्खिनु जरुर ।।”

उपरोक्त दुवै सेरमा भिन्न भिन्न भावना देखिएका छन् ।
पहिलो सेर देशरक्षाको निम्ति हमेशा तत्पर रहने सीमानाका सिपाहीहरू प्रति समर्पित छ भने दोस्रो सेरले अन्याय र शोषणको विरोध हुङ्कार गरेको छ। यसरी बेग्लाबेग्लै स्वतन्त्र भावले लेखिएको गजललाई “गैरमुसलसल” गजल भनिन्छ। जबकि एउटै भावमा केन्द्रित भएर लेखिएको गजललाई “मुसलसल” गजल भनिन्छ। “गजल गोविन्द” का धेरैजसो गजल गैरमुसलसल छन्। जसले गजल सङ्ग्रहलाई मनोग्राही र पठनीय त बनाएको छ। तर एउटा भावमा केन्द्रित भएको गजल पढ्न, गुनगुनाउन जति आनन्द आउँदो रहेछ, एउटै गजलमा ह्वात्तै भिन्ना भिन्नै भाव आउँदा कता कता मनका तारहरू पनि यताउता बहकिन पुग्दा रछन्।

कवि मन दूरदर्शी हुन्छ। देश तथा समाजको हितकारी हुन्छ कवि। सधैं अतीतका पीर-मर्कामामात्रै कवि अल्झी रहँदैन। कविले सुन्दर समाजको कल्पना गरेको हुन्छ। देश, जाति एवम् धर्मरक्षाको निम्ति कवि सधैं सजाग र सचेत हुन्छ । त्यस्तै सचेतताको सोर गुञ्जन भएको पाइन्छ गजलकार शाण्डिल्यको कृति “गजल गोविन्द” मा । उनी भन्छन् —“जहाँ धर्म छ त्यहीँ विजय छ।”
सरल, सोबोध भाषामा लेखिएका शाण्डिल्यका गजलमा वर्तमानको छट्पटी पाइन्छ, भविष्यको कल्पना गरेका छन् उनका गजलले। अहिलेको अमानवीय समजदेखेर चिन्ता, आशङ्का, डर आदिले उनको मन हाहाकार गरेको छ।

“आँधी ठूलो आउनको तरखर भएको छ
तिर्खाएको धर्ती आज हरहर भएको छ।।

राम्रो देश राम्रो भेष धर्ती राम्रै हुनुपर्थ्यो
सन्त्रासले मनस्थिति जरजर भएको छ।।

“यतो धर्मस्ततो जय”- वाणी शास्त्र भन्छ
तेचनमा नयाँ झण्डा फरफर भएको छ।।”

रदिफ गजलको महत्वपूर्ण अङ्ग भए पनि अनिवार्य होइन। हुनत रदिफ भएको गजल अधिक मनोग्राही हुन्छ,;सुमधुर हुन्छ। “गजल गोविन्द” का कुनैकुनै गजलमा रदिफको प्रयोग भएको देखिदैन,जस्तै:

“बल्झिएर घरीघरी दुखेको छ छाती
थोरै तिमी मुस्काउँदा लागेको छ जाती।।

दुख्दादुख्दै बानी पर्‍यो दुखी दिन्छु सधैं
दुखेकै छ दिन अनि बल्झेको छ राति।।

सुनसान एकान्तमा रोएको छु यति
आँसु सँगै सपनाको बगेको छ ताँती।।”

अति मार्मिक भाव छल्किएको उपरोक्त गजलमा शाण्डिल्यले आफ्नो मनको पीडा व्यक्त गरेका छन् । भातृ वियोगमा छियाछिया भएको उनको हृदय यसरी भक्कानिएको पाइन्छ कृतिमा। यस प्रसङ्गमा मलाई एकजना शायरको एउटा सेर याद आयो—-
“कौन कहता है कि दर्द की कीमत नहीं होती?
अरे! जनाव, यहाँ दर्द भी बिकता है—
इधर मेरे गम और दर्द ने आह! कही
उधर मुझे लोगों से वाह! मिलने लगी”

हो, गजलकार शण्डिल्यका पीडादायी शब्दले मन-मुटु छुन्छ, गजलका हरेक शब्दले छिछोल्छन् हृदयका प्रत्येक तार।
यो संसारमा कसलाई पीर छैन र? कसलाई समस्याले घेरेको छैन र? सधैं आफ्नो समस्याभित्र निसासिएको मानिस एकमुठी हाँसोको निम्ति तडपिएको हुन्छ। त्यसैले अलिकति मनोरञ्जन गर्न चाहन्छ मानिस। कविता गीत-गजल पढेर अथवा सिनेमा हेरेर आफ्नो अशान्त मनलाई शान्तपार्न खोज्छ। मानिसको मनोरञ्जनतिर ढल्काइका कारण सामाजिक स्तिथिमा परिवर्तन आएको हुँदा गीत-गजलमा पनि परिवर्तन आएको छ। त्यस्तै हँसी, ठट्यौली मजाकका केही बुँदाहरू पनि पाइन्छन् “गजल गोविन्द” मा। जस्तै:

“विज्ञापन बजारमा धुमधाम भएको छ
कान्छीसँगै बहादुर बदनाम भएको छ।।

साना ठुला पसलमा सस्तो पन्य सानी हेर
खुलेआम पसलमा दरदाम भएको छ।।”

आंशिक काफिया प्रयोग भएको उक्त गजलमा अलिकति मनोरञ्जन पाइए तापनि “गजल गोविन्द” का धेरैजसो गजलले नै नैराश्यको सोर तानेका छन्, उदासी,पीडा,पराजय, छट्पटी,असफलताको बजा बजाएका फछन् । अतिनै मार्मिक भावमा लेखिए पनि कुनै कुनै गजलकक अन्तिम सेर अर्थात मकतामा आशाको ज्योति देखिएका छन् । जस्तै:
मकता (अन्तिम सेर)
कल्पना भित्रको यथार्थ त्यो भेटौंला
पग्ली जुनेलीमै पार रात गरौंला ।।
गैरमुरद्दफ उक्त गजलको मकतामा आशावादी सोर झल्किएको पाइन्छ।
शाण्डिल्यका प्रायजसो गजलका मकतामा “तखल्लुम”( सर्जकको नाउँ वा उपनाम) को प्रयोग भएको देखिन्छ। जसरी भक्तिकालका सन्त कवि कबीरदासजी र रहीमजीले आफ्ना दोहामा तखल्लुमको प्रयोग गरेका थिए त्यसैगरी शाण्डिल्यले पनि गजलमा आफ्नो नाउँ अथवा उपनामको प्रयोग गरेका छन् ।
जस्तैः

“कति भेल कति बाढी आए गए नदीमा
जोडिएका कुनै दिन हो (किनारा) छैनन् ।।

दुखिरहे दिन रात ‘अनाश्रित’ अटुट
सन्तुलित अवस्थामा (सर्वहारा) छैनन् ।।
यहाँ कोष्ठकमा भएका किनारा र सर्वहारा शब्द काफिया (आंशिक) हुन् भने “छैनन्” चाहिँ रदिफ हो र “अनाश्रित” सर्जकको उपनाम अर्थात तखल्लुम हो।

मार्मिकताको सङ्गालो भन्दा भुल नहुने “गजल गोविन्द” मा शाण्डिल्यले दुखसोमात्रै नपोखेर,धेरै ठाउँमा प्रेमको राग पनि छेडेका छन् । शृङ्गार रस भरपुर छरेका छन् कृतिमामा उनले। गजलको प्रेममा चुर्लुम्म डुवेका शाण्डिल्यका गजलमा प्रेम-प्रणयको भावना छताछुल्ल भएर पोखिएको पाइन्छन् । जस्तै :

“सेतो कागज नीलो मसी अनमोल बुझें
चिट्ठीहरू मायाका दसी अनमोल बुझें।।

मात यस्तो लाग्यो सुन, लाट्टिएझैँ मन
नयन पान आपसी अनमोल बुझें।।”

आजभोलि रक्सीले युवालाई चुसीसकेको छ, मधुशालाको आदी अनि मधुमेहले ग्रस्त भएको आजको पङ्गु समाजलाई विशेषगरी युवावर्गलाई कडा व्यङ्ग्य हान्दै उनी यसरी भन्छन्__

“हताशा र निराशा छ आतङ्कको आँधी जतै
‘ खाऊ-पिऊ मस्ती गर’ यो (चलन)भएको छ।।

हुन्न बिहे रक्सी बिना सन्सारी पूजा पनि
भनौंलाग्छ नशा आज (सनातन) भएको छ।।”

ठग, छल, आफन्तले आफन्तीलाई गरेरो कपटपूर्ण व्यवहार, आमाबुबाप्रति सन्तानको हराउँदै गएको श्रद्धा देखेर गजलकारको मन हाहाकार गरेको छ। चीत्कार गर्दै उनी यसरी भन्छन्_
“सुनको माटो चाँदीको मान्छे (बाहना) आज छ
समाजभित्र असाधु नेता मुखौटा अनेक
धनका निम्ति आमा नि बेच्या (प्रमाण) आज छ।।”
यहाँ कोष्ठकमा भएका शब्द काफिया हुन् भने “आज छ” चाहिँ रदिफ हुन् ।

“एजन ईश्वरर सन्धानत” असमकी प्रख्यात लेखिका, उपन्यासकार अनुराधा शर्मा पूजारी ईश्वरको खोजीमा निस्केकी, थिइन् भने गजलकार शाण्डिल्यले ईश्वर निरुद्देश भएको बताएका छन् । यो दुनियाँमा बढ्दै गएको हिंसा, हत्या, घृणा आदि देखेर पनि भगवान किन चुपलागेका होलान् , कतै उनीहरू निरुद्देश त भएनन् ! भन्ने कुरा उनले गजलमा यसरी उठाएका छन् —
“हत्या हिंसा घृणाले जर्जरित छ धरती
धेरै भयो प्रतीक्षा नि तिमी जान आज।।

कृष्ण ,यीशु ,करीम ती निरुद्देश कतै
रोकिएन आपसमा हानाहान आज।।”

उपसंहार:
समग्रमा भन्नुपर्दा “गजल गोविन्द” कृति गजलको एउटा भव्य कृति हो, चारदेखि पाँच सेर,भएका मुरद्दफ, गैरमुरद्दफ दुवैखाले गजल पठनीय छन् । सबै गजल पठनीय हुँदा हुँदै पनि कुनैकुनै गजलमा शास्त्रीय श्लोक अथवा उखानको प्रयोग भएकाले गजलबाट गेयात्मकता कताकता हराउन पुगेजस्तो देखिन्छ।

गजलको संरचना पक्ष, भाव पक्ष अब्बल छ, शब्द उपयुक्त छन् कुनै गजलका सेर लामा छन् भने कुनै एकदमै छोटा छन् । एउटा सम्पूर्ण सुगठित कृति भए पनि “गजल गोविन्द” दोषमुक्त बन्नपुगेको छैन। अर्थात “तकाबुल”को कमी देखिन्छ गजलमा। “तकाबुक” भनेको दोषमुक्त रहनु, वा टक्करमा आउनु। हामी सबै ज्ञात छौँ कि गोविन्द शाण्डिल्य असममा गजलको बिउ छर्ने दोस्रो व्यक्तित्व हुन् , जसलाई “गजल सम्राट” को आख्या दिँदा त्रुटि हुँदैन होला। हामीलाई यो पनि थाहा छ “गजल गोविन्द” २०२२ मा प्रकाशित उनको तेस्रो गजल कृति हो।

एकजना पारखीको कृतिमा यस्ता ससाना त्रुटिहरू देख्दा अचम्म लाग्दो रहेछ। हलुको सम्पादन भएर होला यस्ता ससाना त्रुटि रहेका। भाषामा धेरै दखल भएका गजलकार शाण्डिल्यको कृतिलाई “प्रेसको भूत” ले निलेको छ। “ध”वर्ण “घ” भएर छापिएको छ।भने “धर्ती” गएर “घर्ती, अनि “धर्म” “घर्म” भएर छापिएको हुनाले पढ्दा अलिकति खल्लो लाग्छ। भए तापनि अनुभवी पाठाकले उचित र शुद्ध शब्द के हुनुपर्छ त्यो बुझ्न् सक्छ र सही नै पढ्दछ।

जूनटिकी( ँ) को प्रयोगमा पनि कताकता गडबडी भएको देखिन्छ। दुई एउटा सेरमा काफिया नमिलेको देखिन्छ। जस्तै “बाहाना” र “प्रमाण” आदि। तर मान्छेमात्रै भुल हुन्छ। किताब एउटा प्रकाश गराउँदा कुनै शब्द प्रेसमा लड्छन् भने कुनै घट्छन् बढ्छन् । यी सबै ससाना कुरालाई नजरअन्दाज गर्नु हो भने “गजल गोविन्द” लाई एउटा उच्चस्तरीय कृति भन्न सकिन्छ।
मूलत:
“गजल गोविन्द” प्यासाको पानी हो
तिम्रो ,मेरो, हाम्रो, हामी सबैको कहानी हो
जसमा समाज बोलेको छ, देश रोएको छ
के गर्नु साथी! रुनु-हाँस्नु नै जिन्दगानी हो!!””

अन्तिममा दुई गजलीय सेरले उहाँलाई शुभकामना ज्ञापन गर्दै, उहाँको सुस्वास्थको कामनाको साथ साहित्यिक यात्राको दिर्घायु कामना गर्दै मेरो सानो समालोचनालाई विश्राम दिन चाहेँ

    सन्दर्भ सूची
१.   Idol Nepali poetry block iii
     Prior to Devkota

२. गजल गान्धार
३.असमेली नेपाली समालोचना खण्ड -१
४. “गजलको सिद्धान्त र असममा गजलको विकासमा अनेसासाको भूमिका” निबन्ध: लेखक राम प्रसाद दाहाल