विजय कार्कीको जन्म पोखरा २० मा भएको हो । साविकको भलाम गाविस वडा नं. २ मा शेरबहादुर र मना कार्कीका साइलो सन्तानका रुपमा विसं. २०४१ मा उनको जन्म भएको हो । होचो कदका तर फूर्तिला उनी सानैदेखि खेल प्रेमी थिए ।
सायद त्यसैले होला उनी १७ वर्षको कलिलो उमेरमा भारतीय सेनामा भर्ती भए । सिक्स फाइभ जीआर फ्रटिएर्स फोर्समा रहेर सेवा गरे । उनको अभिरुचि र कुशलताका कारण उनी पल्टनमा सुटिङ खेलमा छानिए । यहाँबाट उनको सुटिङ खेल यात्रा सुरु भयो । छोटो समयमा नै अब्बल खेलाडीमा गनिए ।
पल्टनको प्रतिनिधित्व गरेर भारतमा राष्ट्रिय स्तरका प्रतियोगितामा खेले । सिल्भर मेडल
लगायत थुप्रै पदक जिते । जुनियर भएर पनि सिनियर क्याटागोरीमा खेले । उनी भन्छन् ‘म अन्तर्राष्ट्रिय खेलमा पनि छनौट भएको थिएँ । तर पार्सपोर्ट नबन्दा खेल्न पाइनँ । जुन घटना आज पनि नमिठो लाग्छ ।’
विजय अविराम सुटिङ खेलमा सक्रिय छन् । पल्टनबाट घरमा बिदामा आएका बेला २०६५
सालमा नेपालमा खेल हुँदै छ भन्ने उनले सुने । उनी गण्डकी खेलकुद विकास समितिबाट प्रतिनिधित्व गर्ने सम्भावना नभएपछि बाग्मती अञ्चलको तर्फबाट खेलेर नयाँ कीर्तिमान कायम राख्न सफल भए ।
जुन कीर्तिमान अद्यपि कायम छ । यसरी आफ्नो खेल जीवन अघि बढाइरहेका विजयले १३ औँ साफ खेल्ने मौका पाए । तर १३ औँ साफ खेल्दा राष्ट्रिय खेलकुद परिषद्को कमजोरी एवं लापरबाहीले उनलाई निकै दुःखी बनायो । उनी भन्छन्, ‘साफ खेल्नलाई भारतको प्रतिनिधित्व गरेर आएका पल्टनका साथी खेलाडीहरुले, कार्की दाइ ‘सब ठिक हे, कुछ हेल्प चाहिये तो बोलो,’ भने ।
त्यति बेला सुटिङ खेलमा आवश्यक पर्ने एयर गन र गोली उनीहरुले पाइसकेका थिएनन् । सायद ती खेलाडि साथीहरुले यसबारे. पनि गाइगुइ कुरा चल्दा सुनिसकेका थिए । खेल सुरु हुँदासम्म पनि गन र गोली आउद ैछ भनियो । कहिले मुम्बईबाट हिडिसकेको छ भन्ने, कहिले बाटोमा आउदैछ भन्ने, कहिले ट्रकबाट अनलोड हुँदै छ भनियो ।
‘यस्तो शर्म भयो कि के कुरा गरौँ,’ उनी थप्छन्, ‘अन्तिम समयसम्म गन र गोली
आएन । हामीले तिनै भारतीय एवं पाकिस्तानी खेलाडीसँग गन र गोली मागेर खेल्न बाध्य भयौँ ।’

सुटिङ खेल अरुभन्दा पृथक खेल हो । इच्छामात्र भएर खेल्न सकिने खेल होइन । यस खेलमा अतिरिक्त प्रतिभा र क्षमता चाहिन्छ । विश्वमा सुटिङ खेललाई अन्य लोकप्रिय खेललाई जसरी महत्व दिइएको पाइन्छ तर नेपालमा यो खेलको महत्व निकै न्यून देखिन्छ । खेलाडीको पनि अभाव देखिन्छ । विजय कार्की जस्ता अनुभवी खेलाडीलाई नेपाल खेलकुद परिषद्ले संरक्षण गर्नुपर्ने देखिन्छ ।
जुन सुकै क्षेत्रमा पनि राजनीतिक हस्तक्षेप हावी भएको देखिन्छ । उनी भन्छन्, ‘सम्पूर्ण खेलकुद परिषद्का पदाधिकारी नै राजनीतिक आधारमा सिफारिस भइञ्जेल कर्मठ र योग्य खेलाडी अवसरबाट विमुख हुन परेको छ । र नपालमा अहिलेको अवस्थामा खेल खेलेरमात्र जीविकोपार्जन गर्न निकै गाहे छ ।’
यद्यपि उनी जस्ता अनुभवी युवा खेलाडी राष्ट्रिय खेलकुद परिषदको नजरमा परे भने भोलिको
दिनमा सुटिङ खेलले फड्को मार्ने र यही खेलबाट देशले ख्याति कमाउने सम्भावना रहन्छ ।




