कविता: असार

भरिए ठुला बजार,बस्ती धानका फाँटमा।
सम्पूर्ण बस्ती हराएजस्तो मसान घाटमा॥
कसिलो छैन,फुस्कन्छ भने मानिन्न कसार।
लागेर पनि लागेझैँ अहिले देखिन्न असार॥

असारे गीत गुञ्जन्थे पहिला पहरा, पाखामा।
खुसीका छाँगा, छहरा नाच्थे तन्देरी आँखामा॥
रोपाइँ बाजा बज्दा त हुन्थ्यो हर्षको सञ्चार।
लागेर पनि लागेझैँ अहिले देखिन्न असार॥

हलीको हह!गोरुका फाल,हिलाको सङ्गीत।
रोपाइँ खाजा घुमेका रोटी लाग्दथे अमृत॥
घुम र स्याखु ओढ्दा त लाग्थ्यो कृषिको संसार।
लागेर पनि लागेझैंँ अहिले देखिन्न असार॥

रोपिन्छ बीउ गमलाभित्र कृषिको देशमा।
बाइबलपछि लाग्ने छन् कति ऋषिको देशमा॥
कोदाली,माटो छुन घिन मान्छ अत्तरको बहार।
लागेर पनि लागेझैँ अहिले देखिन्न असार॥

रित्तिए गाउँ,खेताला, हली, बाउसे पाइन्न।
लाग्दछ यस्तो, कसैलाई पनि नेपाल चाहिन्न॥
कमाउने धन्दातिर छन् कति छलेर भन्सार।
लागेर पनि लागेझैँ अहिले देखिन्न असार॥

बिजुली,पानी पारिए कठै! दक्षिणका पोल्टामा।
उतैका किन्छौँ चामल,तिहुन देश पर्‍यो कोल्टामा॥
उर्वर माटो पाएर पनि रित्तो छ धनसार।
लागेर पनि लागेझैँ अहिले देखिन्न असार॥

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।