कविता वाचनमा रेम्बोकी जानुका प्रथम

नेपाल भाषा शिक्षक परिषद्ले शनिबार आयोजना गरेको छन्दोबद्ध कविता वाचन प्रतियोगितामा रेम्बो एकेडेमिक होम्सकी जानुका श्रीष प्रथम भएकी छन् । उनले राष्ट्रकवि माधव घिमिरको मन्दाक्रान्ता छन्दको कविता ‘कलमवीर’ सुनाएकी थिइन् ।

फिस्टेल एकेडेमीकी सदिच्छा रानाभाट द्वितीय ठहरिइन् । उनले चेतन न्यौपानेको ‘झरी’ कवितावाचन गरिन् । तेस्रो बनेकी एक्स आर्मी स्कुलकी क्रिन्जडा पौडेलले कविशिरोमणि लेखनाथ पौडेलको ‘चरीको विलाप’ सुनाइन् ।

सान्त्वना विन्देश्वरी माविकी सुस्मिता विक र राष्ट्रिय माविका विश्व अधिकारी बने । प्रतियोगितामा ५५ विद्यार्थी सहभागी थिए । सहभागीहरुले शिखरिणी, शार्दूलविक्रीडित, मन्दाक्रान्ता, लोकलय, सुग्धरा, शालिनी लगायतका छन्दमा रहेका कवितावाचन गरेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले आफू पनि नेपालीको विद्यार्थी भएको र भाषा जोगाउने कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको सुनाए । उनले भाषा जोगाउने अभियानमा व्यक्ति र संस्थाको तर्फबाट सधैं सहयोग रहने प्रतिवद्धता गरे ।

प्राडा पुण्यप्रसाद पौडेलले भाषा जोगाउन विद्यालय तहमा यस्ता खालका कार्यक्रम हुनुपर्नेमा जोड दिए । संस्थाका सल्लाहकार बोधराज ढकालले छन्द जोगाउन पाठ्यक्रममा छन्द कविता समावेश गर्नुपर्नेमा जोड दिए ।

निर्णायक प्राडा जगन्नाथ रेग्मीले विद्यार्थीले कविता वाचन गर्दा छन्दमा भएका कमजोरी औंल्याएका थिए । सँगसँगै उनले विद्यार्थीलाई वाचन गर्ने तरिकासमेत सिकाए । प्राडा यामनाथ तिमिल्सिनाले राज्यले भाषा जोगाउन विज्ञहरूलाई परिचालन गर्नुपर्ने विचार राखे ।

नेपाली भाषा शिक्षक परिषद् कास्की नेपाली भाषाको समग्र विकास गर्ने उद्देश्यले २०६६ मा स्थापना भएको हो । यसका संस्थापक अध्यक्ष माधवशरण उपाध्याय हुन् । यसअघि बोधराज ढकाल, लोकचन्द्र खनाल, डोलराज अर्यालले यसको नेतृत्व गरिसकेका छन् ।

संस्थाले शिक्षकलाई भाषा र पाठ्यक्रम बुझाउन पाठ्यक्रम विकास केन्द्रका राष्ट्रिय विज्ञहरू बोलाएर बिभिन्न चरणमा कार्यक्रम गरिरहेको संस्थाका अध्यक्ष डिल्लीराम अर्यालले बताए । संघीय सरकारले स्थानीय पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिए पनि भाषा विज्ञसँग सरसल्लाह नलिई पाठ्यक्रम निर्माण हुँदा समस्या देखिएको उनले सुनाए ।

संस्थाका कार्यसमिति सदस्य प्रेमनारायण ढकालले संयोजन गरेको कार्यक्रममा सूर्य लम्साल, बोधराज ढकाल, यामनाथ तिमिल्सिना, प्रेमनाथ ढकाल लगायतले बोलेका थिए ।

संस्थामा १ सय ९० आजीवन सदस्य छन् । आजीवन सदस्य बन्न नेपाली विषय अध्यापन गरेको र भाषासँग सरोकार राख्ने शिक्षक हुनुपर्ने व्यवस्था रहेको महासचिव शिवहरि सुवेदीले बताए ।

संस्थाले नेपाली भाषा पठनपाठनमा देखिएका समस्या हटाउँदै शिक्षण सहज बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । विद्यार्थीको भाषा विकासका लागि हिज्जे, व्याकरण, वक्ृत्वकला, वादविवाद, निबन्ध, कथा, कविता लेखन साथै कवितावाचन जस्ता कार्यक्रम संस्थाले गरिरहेको छ ।

प्रतियोगितामा कवितावाचन गर्नेमा शिवानी रेग्मी, सौगात अधिकारी, ओजिना गुरुङ, जिया अधिकारी, अभिलाषा बराल, अभियान बास्तोला, सृष्टि आचार्य, ममता गिरी, नम्रता परियार, एस्बिन गुरुङ, दिप्सन पौडेल, सदिप्ता, सुरज बस्नेत, आर्या त्रिपाठी, अस्मिता शर्मा, अनु परियार, उत्सवी सुवेदी, अर्जुन विक, सुजता पौडेल, सृष्टि क्षेत्री, प्रविन गुरुङ, विश्व अधिकारी छन् ।

यस्तै, जानुका श्रीष, सुस्मा रसाइली, मनिष कुँवर, अनुष्का विक, सुवानी भण्डारी, मनिता न्यौपाने, स्मृति थापा, अस्मी गुरुङ, गृष्मा कार्की, काजल पराजुली, कविता सुनार, सोनिका त्रिपाठी, जेशिका बाँनिया, अपूर्व पौडेल, रश्मि पुन, अपेक्षा आचार्य, आकृति पौडेल, क्रिन्जडा पौडेल, सुलभ के भण्डारी, सुहाना कुवँर, निपी थापामगर, अनुष्का तामाङ, रुविना अधिकारी, कृति नागिला, सदिच्छा रानाभाट, प्रशंसा खनाल, सन्देश काफ्ले, दीक्षा दर्जी, श्रेया गुरुङ, प्रार्थना पोख्रेलले पनि छन्द कविता सुनाएका थिए ।

संस्थाका कार्यसमिति सदस्य प्रेमनारायण ढकालले संयोजन गरेको कार्यक्रममा सूर्य लम्साल, बोधराज ढकाल, यामनाथ तिमिल्सिना, प्रेमनाथ ढकाल लगायतले बोलेका थिए ।