भानु नगरपालिका ५ मैबल हटिया घर भई व्यास ४ मा बस्ने २१ वर्षीय मनोज विष्ट पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका ४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा संलग्न आरोपमा उनी पक्राउ परेका हुन् ।
मनोज ती महिलाका श्रीमान् हुन् । विष्टलाई मंगलबार राति व्यास ३ स्थित तरकारी लाइनबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।
बोरामा भेटिएको शव मनोजकी श्रीमती व्यास १२ लामीडाँडा माइती भएकी रंगीला भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टि गरेको छ । प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट ५ दिन म्याद थप गरिएको जानकारी दिए ।
विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रंगीलाले २ सिम प्रयोग गर्ने गरेको विषयमा मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले जनाए ।
उपरीक्षक विष्टले भने, ‘जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए ।’
रंगीला र मनोजबीच सामाजिक सञ्जालमार्फत चिनजानपछि वैशाख १ गते प्रेम विवाह भएको थियो । पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध छन् । रंगीलाका बुबा मनबहादुरले जेठ ३० गते बिहान छोरी हराएको भनेर प्रहरीमा निवेदन दिएका थिए । मनबहादुरले रंगीला जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरे ।
हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मानबहादुरले छोरीको सनाखत गरेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।




