काठमाडौं उपत्यकाका कमाइ हुने अड्डाहरुमा लामो समयदेखि कार्यरत कर्मचारीलाई उपत्यकाबाहिर सरुवा गरिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा हुने कर्मचारीलाई बिहीबार बिदाइ गरेका छन् ।
मन्त्रीले नै कर्मचारीलाई निर्देशनसहित बिदाइ गरेर जिल्ला पठाएको यो पहिलो घटना हो । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सेटिङ मिलाएर कमाइ हुने ठाउँमा खटिएका ठूलो संख्याका शाखा अधिकृतलाई उपत्यका बाहिर सरुवा गरेका हुन् ।
गृह मन्त्रालयले बुधबार २८ शाखा अधिकृतलाई दुर्गम र तराईका २३ जिल्ला सरुवा गरेको हो । ती कर्मचारीहरु त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा कार्यरत थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं बाहिर नजान शक्ति प्रयोग गर्ने कर्मचारीलाई खटाएकै ठाउँमा पठाएका हुन् । सरुवा भएका कर्मचारीलाई बिहीबार गृहमन्त्री श्रेष्ठले बोलाएर जनताको काममा लाग्न निर्देशनसमेत दिएका छन् ।
‘कुनै शक्ति केन्द्र, मन्त्री, सचिव, कर्मचारी प्रशासन वा कुनै दलका मुख्य नेताको बलमा खटाइएको ठाउँमा नगई यतै बस्ने कल्पना नगर्नुहोला’, मन्त्री श्रेष्ठले भने, ‘त्यो बाटो बन्द भैसक्यो । अब पावर सेन्टर धाउन छोड्नुस्, खटाएको जिल्ला गएर जनताको सेवा गर्नुस् ।’






