अमेरिकन स्वाइन फिवरले धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित छन् ।
बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेका हुन् । किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन थालेको बङ्गुरपालक किसान गणेशबहादुर पुनले सुनाए ।
“केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका हुन्”, उनले भने, “बिहान ठीकठाक भएका बङ्गुर साँझ मर्ने गरेका छन्, अहिले नगरपालिका, भेटेरिनरी अस्पतालमा हारगुहार गरेका छौँ, उहाँहरूले परीक्षणका लागि नमूना पोखरा पठाउनुभएको छ ।”
बागलुङ बजार क्षेत्रमा ५४ किसानले व्यावसायिक बङ्गुरपालन गर्दै आएकामा अहिले धमाधम बङ्गुर मर्न थालेपछि किसानलाई रु दुई करोड बराबरको क्षति पुगेको बङ्गुरपालक किसान डिलमाया थापाले सुनाए ।
यस क्षेत्रका ५४ किसानले पालेका तीन सय ९२ वटा बङ्गुर मरेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसीले बताउँछन् ।




