सिके राउत
जनमत पार्टीले दुई संघीय सांसदलाई कारबाही गरेको छ । काठमाडौंमा आज बसेको जनमतको केन्द्रीय समिति बैठकले सांसदद्वय सोनु मुर्मुर र बिनिता सिंहलाई कारबाही गर्ने निर्णय गरेको हो ।
मोरङकी मुर्मुरलाई दलित कोटाबाट र सिरहाकी सिंहलाई आदिवासी जनजाति कोटाबाट जनमतले समानुपातिक सांसद बनाएको थियो । पार्टीको निर्देशन नमानेको भन्दै दुबै जनालाई निलम्बन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको स्रोतले जनाएको छ ।
सांसदद्वय मुर्मुर र सिंहलाई कारबाही गरी अन्यलाई पठाउने विषयमा अहिले छलफल जारी छ । प्रतिनिधिसभामा जनमतका ६ सांसद छन् । जसमध्ये मन्त्री भइसकेका सांसद अब्दुल खानलाई समेत कारबाही गर्नुपर्ने विषय बैठकमा उठेको छ ।
खानेपानी मन्त्रीबाट राजीनामा दिएलगत्तै सांसद खानको एक महिलासँग भिडिओ कलमा गरेको अश्लील हर्कतको भिडिओ सार्वजनिक भएको थियो । यसबारे पार्टीले छानबिन गर्ने निर्णय भएको छ ।




