विश्व शान्तिको कामना गर्दै रुद्री पाठ सहित लाख बत्ती प्रज्जवलन

पर्वत सदरमुकाम कुश्मा नजिकै रहेको धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफा क्षेत्र भित्र पर्नेे गायत्री वेद वेदांग पाठशालाको प्राङ्गणमा विश्व शान्तिको कामना गर्दै धार्मिक कार्यक्रमको बुधबार आयोजना गरियो । उक्त धार्मिक कार्यक्रममा पंण्डीतहरुले रुद्री पाठ गरेका थिए भने भक्तजनहरुद्धारा लाख बत्ती प्रज्जवलन गरिको थियो ।
धार्मिक कार्यक्रममा अध्यक्षता ग्रहण गरेका हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले हिन्दु धर्मको नाममा विभिन्न सम्प्रदाय रहेको र सम्प्रदायले आआफ्नो कुरा नै ठुलो मान्दै आएकोले समाजमा समेत धर्मको नाममा अन्यौलता छाएको उल्लेख गर्दै समाजमा राम्रो कार्य गरिदा कसैले पनि एकले अर्कोमा विभेद गर्न नहुने धारणा राखे । समाजको हितमा हुने कार्य गरिदा जसले गर्दा पनि सहयोग गर्नुपर्नेमा आचार्यको जोड थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गुप्तेश्वर शिवपार्वती स्थापना समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले गुप्तेश्वर क्षेत्र भित्र पर्ने गुप्तेश्वर गुफा, वेदवेदांग पाठशाला, शिवपार्वती स्थापना समिति सवैलाई मिलाएर गुप्तेश्वर विकास समितिको गठन गरेमा मात्र गुप्तेश्वर क्षेत्रको समुचित विकास हुने धारणा व्यक्त गरे । सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ब्रम्हकुमारी विश्व विद्यालयकी प्रमुख संचालिका ब्रम्हकुमारी राधिका दिदीले समाजमा सुख, शान्ति र मेलमिलापको वातावरण तयार गर्न सवै जनाले सच्चा र सत्य ज्ञानमार्गमा लाग्नुपर्ने बताइन् । सत्य ज्ञान विना समाजमा शान्तिको स्थापना हुन नसक्ने र वेथिति बढ्ने उनको धारणा थियोे ।

धार्मिक कार्यक्रमको आयोजनाका लागि अगुवाइ गरेकी माता दुर्गा भवानीले साक्षात् शिव स्वरुप तुल्य आफ्ना आदरणीय गुरुहरुको समाधिस्थल रहेको रुद्री पाठ र लाख बत्ती प्रज्जवलनको आफ्नै महत्व रहेको दशाउदै नयाँ वर्ष २०८० मा विश्व शान्तिको कामना गरी धार्मिक कार्यक्रम गरिएको बताइन् । उनले पर्वत जिल्ला माता पार्वती जन्मेको स्थल रहेको र यसको धार्मिक महत्वलाई विश्व सामु पुराउनु आफ्नो एक मात्र संकल्प रहेको भनाई राखिन् । गायत्री मन्दिर हाता भित्र मुक्तिनाथ जानेआउने भक्तजनका लागि निशुल्क खानाबस्न भण्डारा संचालन गर्ने र गुरुहरुको समाधिस्थल नजिकै शिव मन्दिर स्थापना गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै यसका लागि सवैको सहयोग चाहिने अझै खासगरी माताशक्तिहरु सक्रिय भैइ लाग्नका लागि उनले आग्रह गरिन् ।

उक्त कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालकी केन्द्रिय सदस्य मानकुमारी गिरी, रेडियो शालिग्रामका स्टेसन म्यानेजर गोविन्द अधिकारी लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यलयबाट प्रतिनिधित्व गर्दै प्रहरी निरीक्षक अविनाश दिप केसी, सामाजिक व्यक्तित्वहरु बलराम कर्माचार्य, एकनारायण चालिसे, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सयौंको संख्यामा भक्तजनाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार प्रनिश गिरीले गरेका थिए ।