बिहेअघि बिए पास गर्ने किशोरीलाई १ लाख

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न कानुनी रुपमा मिल्दैन । तर बालविवाह अझै रोकिएको छैन । बाल विवाह रोक्न सिन्धुलीको मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई १ लाख दिन थालेको छ ।

मरिण घर भएका विद्यार्थी जो जसले स्थानीय क्याम्पसमा अध्ययन गर्छन्, उनीहरु यसबाट लाभान्वित हुने छन् । बालबिवाह रोक्न र स्थानीय शिक्षालाई उकास्न यस्तको कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउँछन् ।

शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका ५किशोरीलाई जनही १ लाख दिएको छ । अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिबार मरिण सरकारबाट १ लाख पाएकी मरिण–७ जयमङ्गलकी सुकृता घिसिङले सो रकम स्नातकोत्तर पढ्न खर्च गर्ने सुनाइन् ।

“गाउँपालिकाको यस कार्यक्रमले बीचैमा पढाइ छोड्नेलाई फेरि पढ्न हौसला मिलेको छ, उनले भनिन् । सांसद लेखनाथ दाहालका अनुसार मरिण सरकारले ल्याएको सामाजिक उद्देश्यसहितको यो कार्यक्रम मौलिक र सिर्जनशील भएको बताउँन् ।