भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो। नेपालको झापा र मोरङमा लामो समय कष्टकर जीवन बिताएर विभिन्न देशमा पुनर्वासका लागि पठाइएका भुटानी शरणार्थीहरुका सर्वोच्च नेता रिजाल पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा हिरासत पुग्नेको संख्या १६ पुगेको छ।

यसअघि बिहीबार नै यो प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ परेका थिए।

मियाँले उक्त प्रकरणमा बिचौलियाहरुका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । बिहीबार नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले आत्मसमर्पण गरेका थिए।

यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी लगायत पक्राउ परेका छन् ।

पक्राउ पुर्जी जारी गरिएका अन्य दुई जना फरार छन्।