मुक्तिनाथमा फेरि भारतीय पर्यटकको मृत्यु

मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा छ । प्रसिद्ध मन्दिर मुक्तिनाथ दर्शन गर्न आउने एकाधको लेक लागेर मृत्यु हुने गरेको छ ।

बिहीबार भारतको बैङ्लोरबाट आएकी ६७ वर्षीया तीर्थयात्री सौभाग्यवतीको लेक लागेर मृत्यु भएको छ । मन्दिरका १०८ धारामा नुहाउँदा नुहाउँदै उनी बेहोस भएकी थिइन् ।

हवाई यात्राबाट जोमसोम झरेको सौभाग्यवती सम्मिलित टोली त्यहाँबाट गाडीमा चढेर मन्दिर पुगेको थियो । बेहोस भएकी उनलाई उपचारका लागि जोमसोम अस्पताल ल्याइए पनि डाक्टर मृत घोषणा गरेका थिए ।

यसैबीच, मृतकका आफन्तले अक्सिजन र प्राथमिक उपचारको समेत व्यवस्था नहुँदा ज्यान गएको गुनासो गरेका छन् । पछिल्लो ६ महिनामा मुक्तिनाथमा हाइअल्टिच्युडका कारण ११ जनाको मृत्यु भएको प्रहरील् जनाएको छ ।