साहित्यकार नारायण परिश्रमी (नारायणबहादुर पण्डित)लाई यस वर्षको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । २० हजार नगद र सम्मानपत्रसहित परिश्रमीलाई जेठ ८ गते ९४ औं गोकुल जयन्तीमा सम्मान गरिने भएको छ ।
गण्डकी साहित्य संगम पोखराले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टालाई २०५२ देखि राष्ट्रिय तहमा गोकुल वाङ्मय पुरस्कार र क्षेत्रीय तहमा गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्दै आएको छ । गोकुल वाङ्मय पुरस्कारको राशि नगद ४० हजार र गण्डकी वाङ्मय पुरस्कारको राशि नगद २० हजार छ ।
संगमकी सदस्य विजया सुवेदीको संयोजकत्वमा रामराज रेग्मी र प्राडा यदुनन्दन उपाध्याय सदस्य रहेको प्रतिभा छनोट समितिले परिश्रमीलाई पुरस्कार दिन सिफारिस गरेको हो । ३ दशकभन्दा बढी समयदेखि साहित्य साधना गर्दै आएका उनको जन्म लमजुङमा २०१० कात्तिकमा भएको हो ।
परिश्रमीका प्रकाशित कृतिमा तीजको कोसेली (तीजका गीत संकलन, २०५०), परिश्रमीका केही गीतहरु (२०५१), खोरिया (कविता संग्रह, २०६०), हुस्सू दलवीरे (गीतिकाव्य, २०६४), जीवनयात्रा (कविता संग्रह, २०६३), अधुरो गाथा (कविता संग्रह, २०६३), रुञ्चे हाँसो (निबन्ध संग्रह, २०६५), परिश्रमीका बाह्र रचना (निबन्ध संग्रह, २०६९), पाखण्डको पर्दाफास (२०७०), आफ्नो सेरोफेरोः आफ्नै परिवेश (समीक्षा संग्रह, २०७३), शृंखला (मुक्तक संग्रह, २०७५), मान्छे (कविता संग्रह, २०७६), व्यक्ति, कृति र संस्कृति (लेख संग्रह, २०७९) आदि छन् ।
प्रगतिशील लेखक संघ नेपाल, जनसाहित्यिक मञ्च नेपाल, साहित्य शृंखला पोखरा, जनचेतना पुस्तकालय रम्घा, लमजुङ आदि संघ, संस्थामा आबद्ध परिश्रमी पोखरेली साहित्यिक गतिविधिमा पनि उत्तिकै सक्रिय छन् ।
गण्डकी वाङ्मय पुरस्कार यसपूर्व भेषजराज शर्मा २०५३, भवानीप्रसाद पाण्डे (भास्कर)– २०५५, दिल साहनी २०५७, कुलबहादुर केसी २०५९, नुमराज बराल २०६१, केदार शर्मा ढकाल २०६३, कुलप्रसाद खनाल २०६५, देवेन्द्र लम्साल २०६७, रविलाल अधिकारी २०६९, पोषराज पौडेल २०७१, गोपीरमण उपाध्याय—२०७३, रविकिरण निर्जीव २०७५ र चिन्तु गिरी–२०७७ पुरस्कृत भइसकेका छन् ।
यस्तै, गोकुल वाङ्मय पुरस्कारद्वारा देवीप्रसाद किसान (केवलपुरे) २०५२, खगेन्द्र संग्रौला २०५४, गोविन्द भट्ट २०५६, श्यामप्रसाद शर्मा २०५८, रमेश विकल २०६०, निनु चापागाईँ २०६२, मोहन वैद्य (चैतन्य) २०६४, आनन्ददेव भट्ट २०६६, घनश्याम ढकाल २०६८, मोदनाथ प्रश्रित २०७०, हरिहर खनाल २०७२, जीवन शर्मा २०७४ र ऋषिराज बराल २०७८ सम्मानित भइसकेको संगमका सचिव नारायण मरासिनीले जानकारी दिए ।




