बाँकी शुल्कको नाममा अवैध असुली गर्दै शिशु निकेतन

पोखरा १७ विरौटामा रहेको शिशु निकेतन माविले विद्यार्थीसँग अवैध शुल्क असुलिरहेको छ । स्कुलले पुरानो शुल्क शीर्षकमा सबै विद्यार्थीसँग २ महिनाको शुल्ःक लिएको हो ।

केही हप्ताअघि पोखरा महानगरले सूचना प्रकाशित गरी भर्ना शुल्क नलिन भनेको थियो । तर शिशुनिकेतनले चोर बाटो खोज्दै भर्ना शुल्क लिएको हो । शुल्कबारे सोधपुछ गर्ने र तिर्न आनाकानी गर्नेलाई विद्यार्थी निकालेर लैजान व्यवस्थापनले भन्ने गरेको छ ।

शुल्कबारे बुझ्ने अनेक प्रयासपछि नेपालदुतको सम्पर्ककमा आएका प्रिन्सिपल नरेन थापाले शिक्षा नियमावलीविपरीत कुनै शुल्क नलिएको दाबी गरे । उनले चैतको शुल्क तिरिसकेका विद्यार्थीलाई पुरानो बाँकी शीर्षका किन शुल्क लिइयो भन्ने प्रश्नको उत्तर दिन चाहेनन् ।

स्कुलले कक्षा १० का विद्यार्थीलाई डे होस्टल अनिवार्य गरेको छ । डे होस्टेलको खाना, टिफिन, स्न्याक्स र डे बोडर्स शीषकमा भिन्दा भिन्दै शुल्क असुल गरेको देखिन्छ । अतिरिक्त डे बोडर्स भर्ना शुल्क ५ हजार ५ सय लिने गरेको छ ।

शिशु निकेतनले गएको वर्ष पनि पुरानो बाँकी शिर्षकमै भर्ना शुल्क लिएको देखिएको छ । विद्यार्थीसँग एक पटकमात्र बढीमा २ महिनाको शिक्षण शुल्क बराबरको रकममात्र भर्नावापत लिन पाइने कानुन व्यवस्था छ । शिुशुनिकेतनले भने पुरानो बाँकी शीर्षकका बर्सेनि शुल्क असुल्ने गरेको छ ।

पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले त्यसरी भर्ना शुल्क लिन नमिल्ने बताए । उनले भने, ‘त्यसो भएको हो भने प्रमाण दिनुस्, हामी थप बुझ्छौं, परे कारवाही गर्छाैं ।’