रास्वपाले सोमबार विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाएको हो ।
निर्वाचन आयोगले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा कंसाकार सांसद हुने निर्णय अघिल्लो साता नै गरेको हो । उनले आयोगबाट सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् । आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ ।
यता, सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । रिटमा सर्वोच्च अदालतले रास्वपा र उसको अनुशासन समितिसँग श्रेष्ठमाथि कारबाही गर्नुको लिखित कारण पनि माग गरेको छ ।




