नेपाल नाट्य प्रतिष्ठान पोखराले नेपाली नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार गर्न लागेको छ । नेपाली कला, कौशल, संगीत, नेपाली नाटक, रंगमञ्च, समग्र संस्कृति र नेपाली साहित्यको श्रीवृद्धि गर्ने लक्ष्यका साथ प्रतिष्ठान स्थापना भएको हो ।
पोखरा प्रज्ञा प्रतिष्ठानको मुख्य सहयोग र गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रवद्र्धनमा वैशाख २८, २९ र ३० गते सेमिनार आयोजना गरिएको नेपाल नाट्य प्रतिष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । उनले नाटक लेख्ने तथा निर्देशन गर्ने र नाटकघर सञ्चालन गर्ने व्यक्तिको सहभागिता रहने नेपालका ८ र भारतका ११ विषय विज्ञले कार्यपत्र पेश गर्ने जानकारी दिए ।
सेमिनारमा नेपालबाट प्रतिष्ठानका अध्यक्ष प्राडा पोखरेल, प्राडा सावित्री मल्ल कक्षपती, डा अशोक थापा, डा कान्छी महर्जन, डा नारायणदत्त पन्थ, पुरु लम्साल, तारा पोखरेल र गीता सापकोटाले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
भारतबाट डा सुकराज दियाली (सिलगढी), डा वीरबहादुर विश्वकर्मा (सिलगढी), पूर्णकुमार शर्मा (असाम), तेजमान बराइली (सिक्किम), नवीन पौड्याल (दार्जीलिङ), योगेश खाँती (दार्जीलिङ), युवराज काफ्ले (सिलगुढी), सरदकुमार क्षेत्री (कालेबुङ), धर्मराज थापा (दिल्ली) र संजीव गुरुङ (कलकत्ता)ले कार्यपत्रसहित सहभागिता जनाउने अध्यक्ष प्राडा पोखरेलले बताए ।
‘सेमिनारमार्फत नेपाली नाटक तथा भारतीय नेपाली नाटकको सम्बन्धमा गहन छलफल गरी निस्केको निष्कर्ष पुस्तकको रुपमा प्रकाशन गर्ने योजना छ,’ उनले भने, ‘विगतको नेपाली नाटक र रंगमञ्चको सम्यक विश्लेषण गरी नेपाली नाटक र रंगमञ्चको सम्बन्धमा स्पष्ट दृष्टिकोण बनाउन सेमिनारले सहयोग गर्ने छ ।’
सेमिनारबाट नेपाल भारतका नाट्यकर्मीहरुबीच भावनात्मक सम्बन्ध स्थापित हुने अपेक्षा गरिएको छ । अध्यक्ष प्राडा पोखरेलले २०८० सालमा बालकृष्ण समका सम्पूर्ण नाटक, अशेष मल्लका नाटक नाट्यग्रन्थ, प्रकाशित गर्ने योजना सुनाए । उनले सम्भव भएसम्म नाट्यग्रन्थलाई अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्ने सेमिनारको उद्देश्य रहेको जानकारी दिए । पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पद्मराज ढकालले महत्वपूर्ण कार्यक्रम पहिलो पल्ट पोखरामा हुन लागेकोले प्रतिष्ठानले सहयोग गरेको बताए ।
नेपाल नाट्य प्रतिष्ठान पोखराका सचिव राजेशकुमार घिमिरेले सेमिनारका लागि पोखरा उच्च माध्यमिक विद्यालय बगर जुनियर सिटिजन्स एकेडेमी, ग्लोवल कलेजिएट रानीपौवा, पोखरा आदर्श माध्यमिक विद्यालय, प्रगति आवासीय माध्यमिक विद्यालय बाटुलेचौर, गुप्तेश्वर गुफा व्यवस्थापन समिति छोरेपाटन लगायतका संस्थाले सहयोग गरेको जनाए ।




