राम थापालाई आर्थिक पत्रकारिता पुरस्कार

बागलुङ उद्योग वाणिज्य सङ्घद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समितिका वरिष्ठ सहायक समाचारदाता रामबहादुर थापालाई प्रदान गरिएको छ ।

शनिबार आयोजित सङ्घको ५९औँ वार्षिक साधारणसभामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पत्रकार थापालाई नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरे । पुरस्कारको राशि रु ११ हजार एक सय ११ रहेको छ ।

पत्रकारितामार्फत वाणिज्य क्षेत्रमा योगदान पु¥याएवापत पत्रकार थापालाई सम्मानित गरिएको सङ्घका अध्यक्ष नरेश कँडेलले बताए ।आर्थिक विषयमा कलम चलाउने पत्रकारको प्रोत्साहनका लागि सङ्घले विसं २०७७ मा उक्त पुरस्कार कोष स्थापना गरेको थियो ।

पत्रकार थापा हाल राससको गण्डकी प्रदेश कार्यालय, पोखरामा कार्यरत छन् । उनले लामो समय बागलुङमा रहेर पत्रकारिता गरेका थिए । यसअघि उक्त पुरस्कारबाट पत्रकार मुकेशचन्द्र राजभण्डारी र सुवास आचार्य सम्मानित भइसकेका छन् ।