पर्वतमा शिक्षक संगठनद्धारा अन्तरक्रियात्मक कार्यक्रम सहित क्यालेण्डर विमोचन

एकीकृत अखिल नेपाल शिक्षक संगठन पर्वतद्धारा एक कार्यक्रमका विच क्यालेण्डर विमोचन गरेको छ । शिक्षकहरुको पेशागत हितका लागि सक्रिय रहेको एकीकृत अखिल शिक्षक संगठन पर्वतले शनिवार सदरमुकाम कुश्मामा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो ।

शिक्षासँग सम्वन्धित समसामयिक विषयमा गरिएको अन्तरक्रियात्मक कार्यक्रममा वि.सं. २०८० सालको भित्ते क्यालेण्डरको विमोचन समेत गरिएको थियो । सो क्यालेण्डरको प्रकाशन एकीकृत अखिल शिक्षक संगठन पर्वतले गरेको हो । क्यालेण्डरको विमोचन कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाको उपमेयर शोभा कुमारी क्षेत्री र विशिष्ट अतिथि जिल्ला अस्पताल व्यवस्थापन समिति पर्वतका अध्यक्ष शंकर गिरीले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेकी उपमेयर क्षेत्रीले भनिन् र्– समाजमा नागरिकको चेतना विकास र राजनीतिक परिवर्तनका लागि शिक्षकहरुको अतुलनीय भूमिका रहेको छ । राजनीतिक परिवर्तन पछि मुलुकले आर्थिक सम्वृद्धि खोजिरहेको बेला कसरी जनतालाई सो तर्फ अगाडि बढाउने भन्नेबारेमा शिक्षकहरुले बहस चलाउनु पर्छ । नयाँ र परिवर्तनकारी विचारको उत्पादन शिक्षकले गर्न सक्नुपर्छ ।’

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जिल्ला अस्पताल व्यवस्थापन समिति पर्वतका अध्यक्ष शंकर गिरीले कार्यक्रममा बोल्दै प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारी विरुद्ध कठोर कदम चालेको र सरकारले जनताको मन छुने थुप्रै काम गरेको तर सोलाई जनतासम्म पुराउन नसकिएको अवस्थामा शिक्षकहरु पनि समाजकै सचेत वर्ग भएको हुँदा राम्रा कामलाई गाउँका जनतासम्म पुराउन पर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी राजु वि.क., विजयराज पौडेल, मोहनराज पौडेल, भिपलाल पुरी लगायत शिक्षकहरु साथै पत्रकार प्रनिश गिरीले शिक्षा सम्वन्धी समसामयिक विषयमा चर्चा गरेका थिए । कार्यक्रममा जिल्लाभरबाट शिक्षकहरुको सहभागीता रहेको थियो । शिक्षक संगठनका अध्यक्ष भागिरथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संगठनका सचिव किशोर शर्माले गरेका थिए ।