गण्डकी स्पोर्ट्स क्लब पोखरा ३ कास्कीको विशेष साधारण सभाले नयाँ कार्यसमिति चुनेको छ । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिको पदस्थापन शनिबार भएको छ ।
अधिवेशनले उमेश सिकेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो । क्लबको उपाध्यक्ष दीपक मुल्मी, सचिव कपिलदेव गौतम, सहसचिव चेतनाथ चालिसे, कोषाध्यक्ष विनोद गुरुङ र सहकोषाध्यक्ष सुमन ताम्राकार छन् ।
कार्यसमिति सदस्यमा कृष्णबहादुर थापा, जयप्रकाश थापा, मिलन पुन, इनोज रञ्जीत, सान्तोष बानियाँ, अनिरुद्र उदास, गोविन्द प्रधान, द्रव्यजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, दमनजंग राणा, राजु कायस्थ, गुमबहादुर थापा, सुन्दरकुमार थापा र राजकुमार गुरुङ छन् ।
यस्तै, सल्लाहकारमा आनन्द रञ्जीत, मोतिमान शाक्य, सञ्जीव कायस्थ, वीरेन्द्रकुमार श्रेष्ठ र असिम बजिमय छन् । पदस्थापन कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले खेल र संगीतमा रुचि नराख्नेको जीवन पूर्ण नहुने विचार राखे ।
तथा कबड्डी संघ कास्की अध्यक्षसमेत रहेका प्रजापतीले भने, ‘खेल र संगीत मानव जीवनका लागि अपरिहार्य विषय हो । खेलकुदले मानिसको चौतर्फी विकासका सहयोग पु¥याउँछ ।’
अहिलेको अवस्थाका खेल संस्थालाई जोगाउन कठिन भएको उनले उल्लेख गरे । अध्यक्ष प्रजापतिले आफ्नो उद्योग वाणिज्य संघ अध्यक्ष र कब्बडी संघको अध्यक्षसम्मको यात्राको जग गण्डकी स्पोट्स क्लब नै भएको सुनाए ।
क्लबका सल्लाहकार तथा कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष आनन्द रञ्जीतले समग्र खेलकुदको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न क्लबलाई सुझाए ।
क्लबका नवनिर्वाचित अध्यक्ष सिकेले खेलकुद क्षेत्रको उन्नयनका लागि गण्डकी युवा परिवारलाई स्पोर्टस क्लबमा रुपान्तरण गरेको जानकारी दिए । उनले क्लबले कास्कीमा पहिलो पल्ट लिग खेलाएको दाबी गरे ।
क्लबले विभिन्न प्रतियोगिता आयोजना, प्रशिक्षण जस्ता गतिविधि गरी पोखराको खेलकुद क्षेत्रको विकासमा योगदान गर्ने उनको भनाइ छ ।
क्लबका सचिव कपिलदेव गौतमले २०५८ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको क्लबले क्रिकेट, भलिबल र फुटबल खेलमा योगदान गरेको उल्लेख गरे ।





