सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको २५ औं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी महासचिव राजाराम पौडेलले जनाए ।
समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफएम, एभिन्युज टेलिभिजन, सेतोपाटी डट कम, गन्थन डट लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् । यसअगाडि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियारले यो विधाको अवार्ड हात पारेका थिए ।
शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रम कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ । यीमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट ३ मनोनयन सार्वजनिक भइसकेका छन् ।
वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर छन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।
उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँका साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकालाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।
यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भइसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्ड बल संघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँका साथमा ट्रफी पाउने छन्् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरिने भएको छ ।
कार्यक्रममा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङ्जाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुति रहनेछ । भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुति हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् ।
प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र खेलप्रेमीलाई मञ्चले अनुरोध गरेको छ ।




