एसइई दिनेलाई गण्डकी बहुप्राविधिकको सित्तैमा कम्प्युटर तालिम

एसइई दिएर रिजल्ट पर्खिइरहेका विद्यार्थी लक्षित गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले निशुल्क ३ महिने कम्प्युटर तालिम सुरु गरेको छ । तालिमका लागि मंगलबार शिक्षालयमा प्रशिक्षार्थी अभिमुखिकरण भएको छ ।

व्यवहारिक शिक्षा र रोजगारमुखी सीप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटसँगको साझेदारीमा पोखरा महानगरपालिकाले गण्डकी बहुप्राविधिक शिक्षालय चलाएको हो । बिभिन्न प्राविधिक विषय अध्यापनसँगै सिटिइभिटीको पाठ्यक्रममा आधारित लामो तथा छोटो अवधिका तालिम शिक्षालयले दिँदै आएको छ ।

एसइई दिएर बसेका बिद्यार्थीको फुर्सदको समय उपयोग गर्न यसै वर्षदेखि कम्प्युटर तालिम आयोजना गरिएको शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले बताए । निर्देशक तिमिल्सनाले भने, ‘सिटिइभिटी को पाठ्यक्रम अन्तर्गत ३ सय ९० घण्टाको छोटो अवधिको तालिमका रुपमा यो कार्यक्रम ल्याइएको हो ।’

२४ वैशाखदेखि चल्ने तालिमका लागि विद्यार्थी छनोट लगायतका प्रक्रिया सकिएका छन् । तालिमका लागि वैशाखको सुरुआतमा आवेदन माग गरिएको थियो । सहभागीका डेढ सय आवेदन परेकोमा मापदण्ड पुगेका ६० जना छनोट गरिएको हो ।

तालिमका लागि आवेदनसँगै जन्मदर्ता प्रमाणपत्र, एसइई प्रवेशपत्र र वडाको सिफारिस पेश गर्नुपर्ने मापदण्ड थियो । छनोटमा भएका ६० जनालाई दैनिक ३ सिफ्टमा ४ प्रशिक्षकले तालिम दिनेछन् । यस्तो तालिम एसइईलगत्तै हरेक वर्ष चलाउने शिक्षालयले तयारी गरेको छ ।