विश्व मजदूर दिवसको अवसरमा सोमबार काठमाडौंमा कन्सेप्ट नेपालले आयोजना गरेको ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा पोखरेली ‘मजूदर कवि’ इन्द्र राना ‘प्रतीक’ले प्रभावशाली कविता सुनाएर सबैको मन जितेका छन् ।
मण्डला थिएटरमा खचाखच दर्शकबीच उनको पहिलो कविता कृति ‘भुइँमान्छेका कविता’ लोकार्पण, सम्मान र एकल वाचन भएको हो । प्रतीकले दर्शकलाई १० कविता सुनाए ।
साहित्यकार माया ठकुरी,संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कवि ‘प्रतीक’ र प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले संयुक्त रुपमा लोकार्पण गरेको कृतिमा ३३ कविता छन् ।
कार्यक्रममा आयोजकको तर्फबाट ठकुरीले ‘प्रतीक’लाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिन् । ३ दशकदेखि कविता, कथा र गजल लेखनमार्फत नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएस्वरुप सम्मान गरिएको कार्यक्रम संयोजक अमृत भादगाउँलेले बताए ।
कवि अभय श्रेष्ठले कवितामाथि टिप्पणी गर्दै प्रतीकका कवितामा परिश्रमको सुगन्ध भेटिने बताए । अर्का साहित्यकार श्रेष्ठले प्रतीकसँगको सम्बन्धबारे प्रकाश पारेका थिए । ठकुरीले आशीर्वचन प्रदान गरेकी थिइन् ।
प्रकाशक शाक्यले शतप्रतिशत लेखकस्व स्रष्टालाई नै दिने गरी ्बर्सेनी एउटा किताब प्रकाशन गर्दै जाने घोषणा गरे । यस सिलसिलामा भुइँमान्छेको कविता पहिलो कृति हो ।
दिनभरि मजदूरी गरेपछि साँझ डेरामा बसेर साहित्य सृजना गर्दै आएका ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तीर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्छन् । विगतमा उनले कहिले सेती नदी किनारका बालुवा चाल्ने काम गरे भने कहिले घर बनाउने र रंगरोगन गरे ।
पुख्र्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नो घर छैन । जग्गा पनि छैन । त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन् । प्रकाशनका लागि उनका थुप्रै पाण्डुलिपि तयार छन् ।
उनी ६० वर्षको उमेरमा जीवनमै पहिलो पटक आइतबार काठमाडौं आइपुगेका हुन् । पहिलो पटक हवाइजहाज चढेर छोरा र छोरीसहित काठमाडौं उत्रेलगत्तै उनीहरुलाई कार्यक्रम संयोजक भादगाउँलेले पशुपतिनाथ, बौद्धनाथ, काठमाडौं दरबार क्षेत्र र ठमेल घुमाएका थिए ।




