आख्यानकार शुभ शर्माको पहिलो कृति लघुकथा सञ्चयन शुभांशु बजारमा आएको छ ।
बुुधबार काठमाडौंमा हाम्रो लघुकथा केन्द्रले आयोजना गरेको समारोहमा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यककार ध्रुव मधिकर्मी, प्राडा कपिल लामिछाने, लघुकथा केन्द्रका अध्यक्ष लता केसी, उपाध्यक्ष डा शेखरकुमार श्रेष्ठ, कृतिकारका बुवा झगलाल गैरे, नन्दकला बराल र कृतिकार शुभले सामूहिक रूपमा कृति सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले शुभ शर्माका कथाले नेपाली समाजको यथार्थ आख्यानमा प्रस्तुत गरेको बताए । उनले नेपाली लघुकथाको क्षेत्रमा नयाँ नयाँ कृति र आख्यानकारको आगमनले यो विधा समृद्ध हुुँदै गएको जनाए ।
साहित्यकार ध्रुव मधिकर्मीले शुभांशुसँगै शुभको साहित्यिक जीवनमा नयाँ नयाँ कृतिहरु आउने अपेक्षा सुुनाए । सहित्यकार कपिल लामिछानेले शुभांशु नारी लिखित कास्कीको पहिलो लघुकथा सङ्ग्रह हुन सक्ने उल्लेख गरे ।
आख्यानकार शुभ शर्माले आफ्ना बुुवा झगलालको ७५ औं जन्मदिनको उपहारस्वरूप कृति प्रकाशन गरेको सुनाइन् । जीवनका भोगाइ, यथार्थ, कल्पनासहित अनेक रुप कृतिमा मिसिएको जनाउँदै पाठक, समीक्षक, साहित्यकारको सिर्जनात्मक सल्लाह हृदयंगम गर्दै अघि बढ्ने प्रण गरिन् ।
संस्थाका उपाध्यक्ष शेखरकुमार श्रेष्ठको सभाध्यक्षमा भएको समारोहमा संस्थाका सदस्य सत्या अधिकारी र गंगा दाहाल न्यौपाने, संस्थाका सहसचिव बिमुन्स पौडेल लगायतले बोलेका थिए ।
कार्यव्रmममा हाम्रो लघुकथा पाठशालाको नाम परिवर्तन भई हाम्रो लघुकथा केन्द्र जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको जानकारी दिइएको छ । लता केसीको अध्यक्षतामा दर्ता भएको केन्द्रमा उपाध्यक्ष डा शेखरकुमार श्रेष्ठ, सचिव रामराजा केसी, सहसचिव मीना पौडेल, कोषाध्यक्ष सत्या अधिकारी छन् ।
सदस्यमा निर्मला बराल, मदन पोखरेल, वन्दना घिमिरे, दामोदर अधिकारी, मिसु श्रेष्ठ थपलिया र गंगा दाहाल न्यौपाने छन् ।




