नेपालमै बनेका गाडी दर्ता हुने बाटो खुला

यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता गर्त विशेष व्यवस्था गरेको छ। बिहीबार सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन भएको जनाएको हो ।

अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नहुने भएको छ ।

यी कागजातको सटो उत्पादक कम्पनीले मूल्य अभिवृद्धि कर बिजक र प्रचलित कानुन बमोजिम अन्तः शुल्क तिरेको प्रमाण पेश गर्नुपर्ने भएको छ

नेपालमै पहिलो पटक विद्युतीय मोटसाइकलको व्यावसायिक उत्पादन गरिरहेको यात्री दर्ता हुन नसकेपछि यसबारे बहस भएको थियो । अब नेपालमै बनेका सवारी साधन प्रज्ञापनपत्र बिना दर्ता हुने भएका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका थिए ।