जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेका छन् । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी –३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गराएको अध्यक्ष चुमानले जानकारी ििदए ।

अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्दथे । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान अन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरिएको जनाउँदै उनले भने, “हालसम्म पाँच जनप्रतिनिधिले छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराइसक्नुभएको छ, भर्ना गराउने क्रम जारी छ ।”

आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दै छन् । गाउँपालिकाका प्रवक्ता प्रेमबहादुर गुरुङका अनुसार गाउँपालिकाका ३२ जनप्रतिनिधिले छोराछोरी एवं नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न लागेका छन् ।

गाउँपालिकाले विसं २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरण अभियानका रूपमा अगाडि बढाउँदैछ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने चुमानले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । “सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा त भन्छौँ, व्यवहारमा उतार्दैनाँै, अब जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौँ”, उनले भने, “यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ।”

गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको चुमानले सुनाए । सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने भएको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ । पहिलो चरणमा तीनदेखि पाँचवटा विद्यालयलाई बस हस्तान्तरण गरिने भएको छ ।

गाउँपालिकाले आमा समूह भवनका लागि बजेट विनियोजन गर्नुभन्दा उक्त बजेट विद्यालयको सुधारमा खर्च गर्ने निर्णय गरेको छ । सरकारी विद्यालयको गुणस्तर सुधारका लागि भौतिक एवं शैक्षिक क्षेत्रमा जोड दिइएको चुमानले जनाए । “कार्यालयको सवारी पुरानो भइसकेको छ, कतै जाँदा दुःख दिन थालेको छ । तर हामीले नयाँ गाडी किन्ने निर्णय गरेनौँ”, उनले भने, “बरु उक्त रकम विद्यालयमा लगानी गर्ने निर्णय गरेका छौँ । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस वितरणको तयारी गरेका छाँै ।”