शैक्षिक क्षेत्रको सुदृढीकरणकालागि बडिगाड गाउँपालिकामा बृहत शैक्षिक सम्मेलन हुने

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले बृहत शैक्षिक सम्मेलनको आयोजना गर्ने भएको छ । समाज सुधारको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र मानिने शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या एवं चुनौतीहरुको सुधारकालागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
शिक्षा क्षेत्रसँग प्रत्यक्ष जोडिएका विषयगत व्याक्तिहरुको उपस्थितिमा विषय विज्ञसँगको सामुहिक छलफलका लागि आगामी बैशाख २ गते शैक्षक सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका शिक्षा अधिकृत पुर्ण घर्तीले बताउनुभयो ।
आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम एवं बजेट तयारीको पुर्व सन्ध्यामा शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरुको समिक्षा गर्दै निति निर्माण एवं कार्यान्वयनमा प्रभावकारी पहलकालागि शैक्षिक सम्मेलनले महत्त्वपूर्ण मार्गनिर्देशन गर्ने गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।
“समाज विकासको सबैभन्दा महत्त्वपूर्ण शिक्षा क्षेत्रमा के कस्ता समस्याहरु छन यो कुरा तल्लो तहबाट नै तथ्यपरक रुपमा आउनुपर्छ अनिमात्र समाधान गर्न सहज हुन्छ, अध्यक्ष अधिकारीले भन्नुभयो “हामी यसकै लागि छुट्टाछुट्टै विषयगत बहस जरुरी हुन्छ, त्यसैले हामीले शिक्षा क्षेत्रबाट सुरु गरेका छौँ, आगामी दिनमा सबै क्षेत्रमा क्रमश: सम्मेलन गर्दै जानुपर्छ ।”

सम्मेलनमा पालिकाभित्रका सामुदायिक तथा संस्थागत बिद्यालयका व्यवस्थापन समिति, प्रधानअध्यापक, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षा विज्ञलगायतको उपस्थितिमा सम्मेलन आयोजना गरिएको हो ।