राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ घूस प्रकरणमा मुुछिएका छन् । उनले मन्त्री बन्न साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको दाबी गरेका छन् ।
सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग यसबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको छ । अडियोमा प्रसाईंले दुई करोड रुपैयाँ दिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेको सुनिन्छ ।
सांसद श्रेष्ठ कास्कीका बासिन्दा हुन् । उनी यसअघि पोखराको एक सहकारीमा भएको घोटाला कान्डमा पनि मुछिएका थिए ।
उनलाई रास्वपाले कारवाही गर्ने तयारी गरेको छ । महामन्त्री ड मुकुल ढकालले सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिने जनाए। उनले भने, सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण सोधिँदै छ । कानुनी रूपमा पनि निर्णय गर्नुपर्छ । केन्द्रीय समितिले निर्णय नगरेसम्म उहाँलाई सांसद र पार्टी सदस्यका रूपमा काम गर्न रोक लगाउँछौं ।






