८ स्रष्टालाई संघर्षमा कलमको सम्मान

संघर्षमा कलम पोखराले सञ्चालन गर्दै आएको वर्ष सम्मान अन्तर्गत ४ स्रष्टा सम्मानित र ४ स्रष्टा पुरस्कृत भएका छन् । संस्थाद्वारा सञ्चालित बाबा साहित्य साधक र ऋषिराम रानाभाट स्मृति सम्मान कोरोनाका कारण २०७६ सालदेखि रोकिएकोमा एउटै थलोमा ८ स्रष्टालाई सम्मान गरिएको हो ।

जसमा बाबा साहित्य साधक सम्मान २०७८ बाट तनहुँका साहित्यकार आनन्दसुन्दर श्रेष्ठ र २०७९ बाट कास्कीकी कवि लिली अधिकारी जनही नगद १० हजार ५सय ५५ राशिसहित सम्मानित भए । ऋषिराम रानाभाट स्मृति सम्मान २०७८ बाट म्याग्दीका लोकनाथ भुषाल घायलश्री र २०७९ बाट कास्कीकी सावित्री गिरी नगद ५ हजार ५ राशिसहित सम्मानित भए ।

२०७६ र २०७७ मा सम्मान अर्पणको वातावरण अनुकूल नभएकाले संस्थाले राष्ट्रिय अनलाइन कविता प्रतियोगिता आयोजना गरेकोमा सोही समारोह बीच उक्त पुरस्कार पनि अर्पण गरियो । प्रतियोगितामा सुनसरीका किरण चौलागाई शून्यानन्द प्रथम भई ११ हजार १ सय ११, तेह्रथुमका बद्री श्रेष्ठ द्वितीय भई ५ हजार ५ सय ५५, कास्कीकी दीक्षा अधिकारी र पर्वतका श्रीकृष्ण शर्मा तृतीय भई जनही ३ हजार ३ सय ३३ राशिसहित पुरस्कृत भए ।

लोकगायिका हरिदेवी कोइराला, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँ, बाबा साहित्य साधक सम्मान कोषका संस्थापक दुर्गाबहादुर शाह बाबा, अनेसास बोर्ड अफ ट्रस्टी कार्यसमिति सदस्य ऋषि बराल, पूर्व सम्मानित स्रष्टा सरस्वती श्रेष्ठ सरु, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले सम्मानपत्र, दोसल्ला र नगद प्रदान गरे ।

लोकगायिका कोइरालाले अक्षरका पुजारीलाई यसरी पूजा गर्दा हरेक स्रष्टाको लेखनमा ऊर्जा र प्रेरणा मिल्ने बताइन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति बिखर्चीले प्रतिष्ठान यस्ता संस्थासँग प्रोत्साहन र सहकार्य गर्न निरन्तर लालायित रहेको बताए ।
मदन पुरस्कार विजेतासाहित्यकार चन्द्रप्रकाश बानियाँले राम्रो लेख्नका लागि अध्ययन र आलोचना पर्यायवाची भएको बताए । सम्मानित स्रष्टा आनन्दसुन्दर श्रेष्ठले उच्च शिक्षा हासिल गरेको क्षेत्र पोखरामा आएर सम्मान ग्रहण गर्न पाउँदा ती दिनको लेखनयात्रा मानसपटलमा घुमेको सुनाए ।

सम्मानित स्रष्टा लिली अधिकारीले सम्मानले आफूलाई प्रेरणा र थप हौसला मिलेको जनाइन् । अर्का सम्मानित स्रष्टा लोकनाथ भुषाल घायलश्रीले आफूले सम्मानलाई थप जिम्मेवारीका रुपमा लिएको जनाए ।

सम्मानित प्रतिभा सावित्री गिरीले सम्मानको गरिमालाई उचाइमा पु¥याउन निरन्तर सिर्जनशील रहने प्रतिबद्धता गरिन् ।
प्रतिभा छनोट समिति संयोजक कृष्णप्रसाद पौडेलले छनोटका प्रक्रिया र प्रतिभाको परिचय प्रस्तुत गर्दै यस पटक संस्थाले संषर्शशील र उचित स्रष्टा चयन गरेको उल्लेख गरे ।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी कार्यसमिति पदाधिकारी ऋषि बराल, शुक्ला साहित्य संगम तनहूँका संरक्षक शेषमणि आचार्य, धार्चे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत समीप काजी, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, पूर्व सम्मानित स्रष्टा सरस्वती श्रेष्ठ ‘सरु’ र कवि दीक्षा अधिकारीले आफ्ना भनाइ राखेका थिए ।

सोही समारोहबीच संस्थाले ऋषिराम रानाभाट स्मृति कोषको तर्फबाट सार्वजनिक पुस्तकालय केराबारीका लागि गजलकार वसन्त विनोदमार्फत् ४२ थान पुस्तक प्रदान गरेको छ । कृष्ण रानाभाट ‘सारथि’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन असफल गौतमले गरेका थिए ।