पोखरा १८ को निर्वाचन परिणाम बदर, फेरि मतगणना हुने

उच्च अदालत पोखराले पोखरा महानगर वडा न १८ को वडाध्यक्षको मत गणना बदर गरेको छ ।

अदालतले वडाको गत वैशाखमा भएको स्थानीय निर्वाचनको मत गणना फेरि गर्न आदेश दिएको हो । चुृनाव ३ मतले हारेपछि एमाले उम्मेदवार पुष्कल थापाले फेरि मतगणना माग गर्दै निवेदन दिएका थिए ।

थापाले गत जेठ १८ गते दिएको निवेदनको मंगलबार कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासमा सुनुवाई भएको हो ।

पोखरा १८ मा निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमल्सिनालाई विजयी घोषित गरेको थियो । उनले १६४३ मत र प्रतिस्पर्धी एमालेका थापाले १६४० मत पाएका थिए।
थापाले खसेको मध्ये ९ मत गणनामा नदेखिएको रिटमा जनाएका थिए ।