सप्तरीमा एक महिलाले बीमाको रकमको लोभमा श्रीमानको हत्या गरेकी छन् ।
ऋण चुक्ता गर्न बीमा रकम लिन श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् ।
६ कात्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको भन्दै श्रीमती कोशिलाले प्रहरीलाई खबर गरेकी थिइन् । घटनास्थलमा पुगेको प्रहरीले पनि तत्कालिन अवस्थामा करेन्ट लागेर शिवशंकरको मृत्यु भएको जनाएको थियो ।
अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि शिवशंकरको हत्या भएको खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी दीपक रायले बताए । हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नतामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई महिनाअघि शिवशंकरको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०÷२० लाखको बिमा गराइएको थियो । ५ कात्तिकमा शान्ति देवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर पठाएकी थिइन् । मदिराको नशामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बायाँ हातको साहिली औंलामा तार बेरेर करेन्ट लगाएको खुलेको छ ।




