
नेकपा माओवादी केन्द्रले गण्डकीमा एमाले नेतृत्वको सरकारबाट हटेर आफ्नै नेतृत्वमा सरकार बनाउन पहल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र गण्डकीको संसदीय समितिलाई नयाँ सरकार गठन प्रक्रियामा लाग्न निर्देशन दिएका छन् ।
गण्डकीका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले केन्द्रको निर्देशन अनुसार माओवादी अहिलेको सरकारबाट बाहिरने र आफ्नै नेतृत्वमा सरकार बनाउन लाग्ने जनाए ।
बिहीबार साँझ नेपालदुतसँग उनले भने, ‘भोलि संसदीय दलको बैठक बस्दै छ । अब प्रदेशको नेतृत्व हाम्रो दलले पाउनुपर्छ भन्ने हाम्रो दाबी छ । संघीयताको प्रमुख वकालतकर्ता भएकाले पनि माओवादीको नेतृत्व उचित हुन्छ ।’
अहिले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने गरी तयारी गरिरहेका छन् । शुक्रबारको बैठकले सरकार दिएको समर्थन फिर्ता लिने स्रोतले जनायो ।
गण्डकीमा कांग्रेस, माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने चर्चा भइरहेको छ । मन्त्री चुमानले पहिले माओवादीले नेतृत्व पाउनुुपर्ने दाबी गरे ।
६० सदस्यीय गण्डकीमा कांग्रेसको २७ सिट छ । दोस्रो एमालेका २२ सांसद छन् भने माओवादी केन्द्रको ८ सिट छ । यहाँ राप्रपाको २ सिट र एकीकृत समाजवादीको १ सिट छ । माओवादी र कांग्रेस मिल्दा यहाँ सरकार बनाउन सुविधाजनक बहुमत पुुग्छ ।