पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । गएको भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकोमा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मन्त्रालयले त्यसको चाँडै टुंगो लगाउने भएको छ ।
पोखरा विश्वविद्यालयले सञ्चालन अनुमतिपत्र पाएपछि १ सय शड्ढयाको अस्पताल चलाउने योजना बनाएको हो । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए ।
विश्वविद्यालयका इन्जिनियर सुदीप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण कार्य भइसकेको सुनाए । पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरा महानगरपालिका ३० खुदी, ढुङ्गेपाटनमा अवस्थित पोखरा विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि रहेको ११ रोपनी ३ आना जग्गामा निर्माण गरिएको छ ।




