अनलाइन पत्रकार संघ गण्डकीमा नयाँ समिति

अनलाइन पत्रकार संघ गण्डकी अध्यक्षमा ढाकामोहन (गणेश) बराल निर्वाचित भएका छन् ।

संघको आइतबार पोखरामा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षमा सन्तोष बस्याल, सचिव प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) लाई चुनेको छ । संघका सदस्यमा नीरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रवीण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने र रोहित बस्नेत छन् ।

सभामा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले अनलाइन मिडियालाई व्यवस्थित बनाउन संघले अनलाइनसम्बन्धी साक्षरता कार्यक्रमको आयोजना गर्न आग्रह गरे । कतिपय अनलाइनमा आएका समाचारले समाजमा नकरात्मक प्रभाव पारेको अभिव्यक्ति मुख्यमन्त्रीको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभूति हुने बताइन् । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक पत्रकारमैत्री हुनुपर्ने धारणा राखे ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्न संघ लाग्नुपर्ने बताइन् । अनलाइनलाई व्यवस्थित गर्दै आमसञ्चार मिडियालाई प्रभावकारी बनाउन आजको आवश्यकता रहेको भनाई उनको छ ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले अनलाइन कान्छो विधा भएर पनि सबैभन्दा प्रभावकारी भएको उल्लेख गरे । अनलाइनको कन्टेन्टमा प्रश्न उठिरहेका बेला संघले अनलाइन मिडियालाई नियमन गरी दक्ष जनशक्ति उत्पादन गर्नतर्फ जोड दिन उनको आग्रह छ ।

नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकालले अनलाइनबाट अपेक्षा धेरै गरिएता पनि अनलाइनलाई नै संरक्षण गर्न सरकार मुकदर्शक बनेको बताए । अन्य पत्रकारसँग सम्बद्ध संस्थाजस्तै अनलाइन मिडियासँग सम्बद्ध संस्थालाई पनि सरकारको सहयोगको आवश्यकता रहेको भनाई उनको छ ।

अनलाइन पत्रकार संघ गण्डकी अध्यक्ष कमल सुवेदीले गण्डकी सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक अनलाइन मिडिया मैत्री हुनुपर्ने बताए । उनले दर्तादेखि नवीकरणसम्मको काम झन्झटिलो रहेको उल्लेख गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा नै नवीकरण गर्ने व्यवस्था मिलाउन नीति निर्माण गर्न माग गरे ।

संस्थाका सल्लाहकार केशव पाठक संयोजक माधव बराल र सागरराज तिमिल्सिना सदस्य रहेको ३ सदस्यीय निर्वाचन मण्डलले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो ।