विश्वकप छनोटमा पुगेको क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख

आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।

आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् ।

नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।

प्रधानमन्त्रीले भने ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

नेपालले एक महिनाको अन्तरमा अदित्तीय प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेको थियो । जसमा घरेलु मैदानमा भएको पछिल्लो दुई शृंखलाको चारै खेल जित्दै क्लिन स्वीप गरेको थियो भने यूएईमा भएको शृंखलाका चारमध्ये तीन खेल जितेको थियो ।