सहिद, बेपत्ता परिवार पार्टीका ऊर्जा

२८ औं जनयुद्ध दिवस अन्तर्गत सहिद सप्ताहको सन्दर्भमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले विशेष कार्यक्रम गरेको छ । जनयुद्धमा सहिद हुने र बेपत्ता हुने कास्की जिल्लाका सबै सहिद तथा बेपत्ता परिवारसँग भेटघाट एवं अन्तरक्रिया गरिएको हो ।

समारोहमा सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान तथा अभिनन्दनसमेत गरिएको छ । कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका सदस्यले नेकपालाई सल्लाह, सुझावसहित खबरदारी गरेका थिए । सहिदका सपना नभुल्न, बेइमानी नगर्न र धोका नदिन उनीहरुले खबरदारी गरेका थिए ।

नेकपाको तर्फबाट पोलिटब्युरो सदस्य तथा गण्डक ब्युरो इन्चार्ज राजन सी र पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज पूर्णजित सीले नेकपा सहिद र बेपत्ताका सपना पूरा गर्न एकीकृत जनक्रान्तिमा अथक रूपमा अघि बढिरहेको बताए । उनीहरुले पार्टीले जनयुद्ध, जनआन्दोलन र जनसंघर्षका अधुरा काम पूरा गर्ने आश्वासन दिए ।

सहिद तथा बेपत्ता परिवार क्रान्तिका अविभावक, ऊर्जा र शक्ति भएकाले उनीहरुलाई सधै सम्मान गरिनेमा राजन र पूर्णजितले जोड दिए । पार्टीका कास्की जिल्ला सेक्रेटरी काजी सीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरु सोममाया सी र उमेश सीले जनताको मुक्तिको सपना र युगको कार्यभार पूरा गर्न क्रान्ति जरुरी रहेको बताए । उनीहरुले अवसम्भावी त्यो क्रान्तिको नेतृत्व नेकपाले गर्ने भन्दै क्रान्तिकारीलाई एकतावद्ध हुन आग्रह गरे ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा करिब १७ हजारको ज्यान गएको थियो । युद्धको क्रममा मानिस अझै बेपत्ता छन् ।

बेपत्ताहरुको अवस्था पत्ता लगाउन र शान्ति प्रक्रिया टुंग्याउन विस्तृत शान्ति सम्झौतामै दलहरु सहमत भए पनि अझै व्यवहारिक कार्यान्वयन हुन सकेको छैन ।

जनयुद्धका क्रममा देशभर १ हजार ९५ जना बेपत्ता र ८ हजार ५ सय २५ जना सहिद भएका थिए ।