प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी चयन भएका छन् । क्लबको शनिबार पोखरामा भएको प्रथम अधिवेशनले सफल न्युज डटकमका सम्पादक गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा राजाराम पौडेल, सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी र सहसचिव दीपा पौडेल भण्डारी छन् । कार्यसमिति सदस्यमा आशीष पुरी र संकल्प ढुंगाना छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अपरिपक्व अवस्थामा रहेकाले आमसञ्चार विधेयक तत्काल पारित नभएको बताए । सञ्चार जगत र व्यापक छलफलपछि यो ऐन बन्ने उनको भनाइ छ ।
मुख्यमन्त्री अधिकारीले माननीयहरुलाई मिडिया र जनताले खेदेको खेद्यै गरेको बताएका छन् । उनले जनप्रतिनिधिलाई मिडिया र जनताले सैतानको जस्तो व्यवहार गरेको गुनासो गरे । मिडिया र जनप्रतिनिधिबीच अन्योन्याश्रित सम्बन्ध हुनुपर्नेमा दरार देखिएको मुख्यमन्त्री अधिकारीले जनाए ।
प्रेस क्लबका संयोजक एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमानले सभ्य समाजका मात्र असल मूल्य र मान्यता स्थापित हुने बताए । कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापा, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना, रास्वपाका प्रतिनिधि हेम सुवेदी लगायतले बोलेका थिए ।




