पोस्सोन केन्द्रमा सुवास, कास्कीमा कुमार

पोलिटिकल साइन्स सोसाइटी (पोस्सोन)नेपालको प्रथम साधारण सभा शनिबार भएको छ । सभाले सुवास ढुंगानाको अध्यक्षतामा पोस्सोन केन्द्रीय कार्यसमिति चुनेको छ ।

संस्थाको महासचिवमा मिलन आले, उपाध्यक्षहरुमा फरेन्द्र थापामगर, डिलकुमारी पौडेल र डा सञ्जय कोइराला, कोषाध्यक्ष क्या. सन्तबहादुर लामिछाने, सहसचिवमा कामिल खान र शिवराज रेग्मी छन् । १९ सदस्यीय कार्यसमिति सदस्यमा सुुधीररमण पराजुली, विष्णुु गुरुङ एकता, नमिता कुँवर, सुुमन थापामगर, लक्ष्मण ढुुंगाना, विष्णु पोखरेल, सवनम मल्ल, भानुुभक्त अधिकारी, रमेश सापकोटा, दुुर्गाबहादुर कुँवर र विकास गुरुङ छन् ।

सोही कार्यक्रममा कुमार भण्डारीको अध्यक्षतामा पोस्सोन कास्की जिल्ला कमिटी गठन भएको छ । उपाध्यक्षमा विनयकुमार थापा, सचिव नीलकण्ठ त्रिपाठी, कोषाध्यक्ष उत्तम बराल र सहसचिवमा स्वीकार पोखरेल छन् । यस्तै, सदस्यमा सहनशील बराल, बुद्धिप्रसाद गुरुङ, सुमन गिरी, ईश्वर पौडेल, सुदीप शर्मा पौडेल र दिनेशमणि लामिछाने छन् ।

कार्यक्रममा सांसद दामोदर पौडेल (बैरागी)ले देशको राजनीति अस्थिर र आर्थिक स्थिति विकराल भएको टिप्पणी गरे । अहिले संस्कृति, समाजमाथि पनि हस्तक्षेप भइरहेकाले नेपाली सजग बन्नुपर्ने उनको भनाइ छ ।

देशको राजनीति पद र भागबन्डा केन्द्रित हुँदा जनताका अपेक्षा र विकासको गतिमा पछि परिएको बताए । उनले भने, ‘राजनीतिक स्थिरता, अर्थतन्त्रको उदय र संस्कृतिको जगेर्ना बिना समृद्धि सम्भव छैन ।’

नेपाली कांग्रेस कास्की जिल्ला सभापति किशोरदत्त बरालले यो संस्थाले नेपाली समाजलाई राजनीतिको सही परिभाषा सम्झाउने अपेक्षा गरे । देशको राजनीति सधैं सत्ता केन्द्रित रहेको, राजनीति जो कोहीले पनि गर्न खोज्ने तर पढ्नु, बुझ्नु नचाहेको उनको टिप्पणी छ ।

एमाले कास्की इन्चार्ज कृष्ण थापाले राजनीतिशास्त्रीको यो संगठनले देशको राजनीतिलाई सही दिशा देखाउन भूमिका खेल्ने आशा सुनाए ।

सांस्थाका अध्यक्ष सुभाष ढुुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख सरोज कोइराला, राजनीतिशास्त्रका प्रध्यापक, राजनीति शास्त्रका विद्यार्थी लगायत सहभागी थिए ।