थोपो र मरुभूमिमा क्याक्टसको छाँया खोज्दै

कविता तपस्या हो, योग हो, साधना हो। र साधना कहिल्यै व्यर्थ जादैन। अघिअघि ऋषिहरू पनि घोर तपस्यामा लीन हुन्थे अनि आफ्नो ब्रह्मज्ञान लिएर उदय हुन्थे र समाज कल्याणको निम्ति त्यो साधना प्रयोग गर्थे। त्यसैगरी कवि एवम् लेखकहरू पनि कविताको साधनमा तल्लीन हुन्छन् अनि अमृतरूपी कृति रस लिएर निस्किन्छन् र समाजको हितमा लाग्छन्। हो, त्यस्तै त्यस्तै हुन्छन् कवि। नदीसँग बग्ने, हवासँग गीत गाउने, हरेक ऋतुमा रमाउने, मान,यश र आडम्बरी जीवनदेखि परै बस्ने। उनीहरूको पनि मन हुन्छ, हृदय हुन्छ, जब जब पृथ्वीमा सङ्कट आउँछ तब तब कविमन भकानिन्छ, रुन्छ, छट्पटिन्छ र शब्दरूपी क्रन्दनले उनीहरू विलाप गर्छन् , मुक्तिको एवम् परित्राणको बाटो खोज्छन् । जसरी खोजेका छन् “थोपो र मरुभूमि” मा रुद्र बरालले।

उनको हालै प्रकाशित काव्य कृति “थोपो र मरुभूमि” भित्र जब म डुब्दै गएँ, कृतिका हरेक पाना केलाउँदै गएँ,गहिराइमा गएर हेर्न खोजेँ, कृतिभित्र समाहित भएका अनुभूतिहरूलाई आत्मसात गर्दा मैले आत्मसन्तुष्टिको निम्ति मात्रै होइन एउटा सचेत मानिसको हैसियतले उनले कविता लेखेको पाएँ। कवितामा देश एवम् विदेशको सामाजिक,राजनैतिक व्यथा पोखिएको छ।

कृतिको नाउँ सुन्नेबित्तिकै देशको भौगोलिक अवयवको भान हुने,सोझै राजस्थानको विशाल मरुस्थल र क्याक्टस तरुको झझल्को आउने यस कृतिमा न थार रोएको छ न साहारा र कालाहारीले आँसु खसाएका छन् ,न त गोबी र नामीब ठिँगुरीएका छन् । यहाँ मरुभूमि र मरुभूमिकरणका कुरा नपाइए पनि यहाँ देश तथा राष्ट्रका तत्कालिन परिस्थितिका बुँदा अवश्य पाइन्छन्। यहाँ यूक्रेन छट्पटाएको छ महाविस्फोटपछि, नि:शब्द बोलेको छ एउटा प्रेमको कथा, फिअर साइकोसिसको त्रासले चुसेको छ मानिसको वर्तमान र भविष्य। प्रचुर मात्रामा बिम्बको प्रयोग भएका बरालको यस कृतिमा व्यङ्ग्यको पनि उत्तिकै प्रयोग भएको छ
श्रमिकको व्यथा बुझ्दै उनी यसरी भन्छन् __

´ पे-डेहरूले पुछ्न नसकेका आँसु अथवा रोक्न नसकेको भुँडीको कोलाहल टाल्न नसकेको फाटेको मुटु एउटामे-डे`ले बिर्साइदिनदक्छ
डाँडामा घाम रहेसम्म।”_ मे-डे हिंदी साहित्यका प्रख्यात कवि अज्ञेयज्यूले “गाउँ से शहर की ओर”शीर्षक कवितामा यसरी भनेका थिए
“इस बार फिर हम
शहर से गाउँ की सैर को निकले
और हमने पाया
कि गाउँ तक हमारी पहुँच नहीं रही
सारे रास्ते
अब
गाउँ से शहर की ओर दौड रहे हैं।”

मान्छे आज सहरतिर धाउँदै छ, चाहे त्यो रोजगारको खोजीमा होस् या अधिक सुबिधा पाउने आशामा होस्, या त शिक्षाको निम्ति होस् । बढ्दै गएको सहरमुखी मनोभाव देखेर जसरी कवि अज्ञेयले कवितामा आफ्नो पीडा व्यक्त गरेका थिए त्यसैगरी कवि बराल भन्छन् –

झ्यालबाहिर विचित्रको संसार छ

मान्छे छन्

गाउँ छन्

टुलो सडक

बच्चा बाटा

घरमाथि घर

बाटामाथि बाटा, पुल

बगैचा छैनन्

छन् गमलामा फुल।”___मेरो घरको काठको झ्याल

मूलतः यथार्थवादी सम्वेदशील कवि बरालको “थोपो र मरुभूमि” का सबै कविता नै उत्तम छन् कृतिमा कुनै लामा कुनै एकदमै छोटा किसिमका कविता समावेश भएका छन् तर छोटा चार-पाँच पङ्क्तिका कविताले पनि उत्तिकै अर्थ खुलाएका छन् ।

नौलो प्रयोग गर्न रुचाउने कवि बरालले यस कृतिमा परम्परागत पद्धतिलाई पन्छाएर नयाँ ढाँचा भित्राएका छन्। कुनै कसैको भूमिकाका हरफले कृति सजिएको छैन, ९ जना नवीन कविहरू- कमल शर्मा, अनुपमा कट्टेल, अनुप शर्मा, नरबहादुर दर्जी, हिरण्य पौडेल, प्रकाश कुँइकेल, पूजा आचार्य , नारायण शर्मा र निलीमा आचार्यका शुभकामना रहफले कृतिको आवरण पृष्ठ सजिएको छ।