सफल महिला नेतृ

नेपाली समाजमा अझ विशेष गरी ग्रामीण परिवेशमा महिला नेतृत्वलाई कठीन एवं असम्भव मानिन्छ । नेपालमा ग्रामीण क्षेत्रमा अझै पनि सानै उमेरमा विवाह गर्ने प्रचलन अझै जिवितै छ । विवाह गर्ना साथ सन्तान जन्माउनु पर्ने बध्यताका कारणले महिला नेतृत्वले स्थान पाउन सकेको छैन । गाउँमा उच्चशिक्षा हाशिल गर्न नसक्दा अझै पनि गाउँले दिदीबहिनीहरु वन पखेरा, कृषि कार्यमा मात्र सिमित बन्नुपर्ने अवस्था कायमै छ । यो र यिनै परिवेशबाट उठेकी एक सशक्त नारी प्रतिभा हुन्इ न्दिरा पौडेल ।

पोखराको परिवेशमा धेरैले इन्दिरा पौडेललाई एक सशक्त नारी जागरणकी अभियन्ताका रूपमा चिन्ने गर्दछन् । महिलाहरुका समस्या र व्यथालाई नजिकबाट देखेकी इन्दिराले आफ्ना हृदयमा परेको चोटका कारण नारी जागरणलाई जीवनको लक्ष्य बनाए । उनी यही महायज्ञमा समर्पित छन् । उनले बोकेको लक्ष्य स्पष्ट र महान छ । उनले नारीहरुका सामूहिक आवाजलाई कुलन्द पार्ने कार्य गरेकी छिन् ।

उनको सपना भनेकै नारीहरुको हँसिलो चेहरा हो । उनको यस महाअभियानलाई धेरैले साथ दिएका छन्, समर्थन गरेका छन् ।
वि.सं. २०२४ शाल कार्तिक ५ गते स्याङ्जाको सातु पसल ज्यामिरेमा सुवेदी परिवारमा जन्मिएकी इन्दिरा सानै उमेर देखि अरुका प्रति स्नेह र सेवाभाव राख्ने गर्दथिन् । उनी भन्दछिन् – मेरो सानै देखिको बानी अरुलाई सेवा गर्न पाए हुन्थ्यो जस्तो लाग्दथ्यो । गाउँँमा जेष्ठ आमा, बुवा, पढ्न लेख्न नजान्ने निरक्षर, अशक्त, असहाय, अपाङ्ग, विधवा महिलाहरुप्रति हृदयबाट नै करुणाभाव जागेर आउँथ्यो ।

शुरुमा शिशुरञ्जन प्रा.वि. मा पढेकी इन्दिराले मातृभूमि व्यवस्थापनमा स्कुलबाटै जुनियर रेडक्रस सर्कल, स्काउट आदि कार्यक्रममा सहभागिता जनाउँथिन् । उनले २०५० शालदेखि आमा मिलन केन्द्र स्याङ्जाको जिल्ला संयोजकको जिम्मेवारी पाईन् । उनलाइ यो जिम्मेवारी साह्रै मन पर्‍यो र जीवनभर यस अभियानमा हिड्ने प्रण गरिन् ।

१८ वर्ष मै कलिलै उमेरमा इन्दिराले बाबुआमाले रोजेको केटो ध्रुवराज पौडेलसँग विवाह गर्नुपर्‍यो । जो जलविद्युत केन्द्र मनाङमा कार्यरत थिए । इन्दिराले पनि मनाङ पुगेर टाइपिष्टको जागिर खाईन् । आफ्ना पति धु्रवराजको जुम्ला सरुवा भए पनि इन्दिरा स्याङ्जामा जागिरे भइन् । पछि श्रीमानको सरुवा स्याङ्जामा भयो । पारिवारिक सल्लाह अनुसार पसल राख्ने निधो गरे । शुरुमा उन्नत जातका मल विउ विजन औषधिमूलो पसल थापे । २०५० शालमा इन्दिरा आमा मिलन केन्द्रको जिल्ला संयोजक भए पनि व्यवसायिक क्षेत्र र सामाजिक सेवाक्षेत्रले स्थान पनि लिन थाल्यो ।

विशेष गरी उनले जिल्लाका विभिन्न गाउँँ र नगरमा महिला जागरणका साथै लैंगिक विभेद, महिला अधिकार र सशक्तिकरण जस्ता कार्यमा आफूलाई समप्रित गरिन् । साथै आमा स्मारिका प्रकाशन, आमा मिलन बहुद्देश्यिय सहकारी संस्थाको स्थापना र संस्थापक अध्यक्षको भूमिकामा आफूलाई खरो रूपमा उभ्याईन् ।

वि.सं. २०६३ शालमा इन्दिरा पौडेलले पोखरालाई कार्यक्षेत्र बनाइन् । उनले आमा मिलन केन्द्र कास्की दर्ता गरिन् । यस केन्द्रले कास्की जिल्लाको विभिन्न गाउँँमा पशुपालन कृषिजनय उद्योग व्यावसाय तालिम र शिपको व्यवस्थामा साथै महिला जागरण तथा चेतना वृद्धि जस्ता गतिविधिमा आफूलाई निकै सक्रिय पारिन् ।

हाल पोखरा ८ नागढुङ्ग निवासी इन्दिरा पौडेल विभिन्न संघ संस्थामा आवद्ध छिन् । यस्तै सेवा कार्यमा लाग्न आफ्ना श्रीमानलाई पनि प्रेरित गरिन् । अहिले उनी पोखरामा विशेष गरी सफल नारी नेतृत्वका रूपमा निकै परिचित छिन् । हरफल हरक्षण नारी अधिकारका लागि नै क्रियाशिल इन्दिराको ठम्याइ छ नारीहरुको उत्थान विना समग्र समाजको उत्थान हुन सक्दैन ।