कवितामा चित्र, चित्रमा कविता

प्राज्ञ रमेश श्रेष्ठलाई पोखरामा धेरैले कवि एवं कलाकारका रूपमा चिन्दछन् । कला समीक्षक एवं विन्धकार ज्ञानेन्द्र विवशका अनुसार विम्वकविका रूपमा ख्यति प्राप्त श्रेष्ठका कला अमूर्त झै लाग्दछ । उनको ठम्याइ छ – श्रेष्ठका चित्रहरु आयातनमा आकृतिबद्ध सृजनाहरु यथार्थमा मूर्त शैलीका छन् ।

मलाई पनि लाग्छ – श्रेष्ठका अर्काे विशेषता के हो भने उनी कवितामा चित्र देख्छन् अनि चित्रमा कविता ।

वि.सं. २०२३ शाल पौष १० गते पोखराको वगरमा जन्मिएका विम्वकवि श्रेष्ठले २०४० सालबाट कवितायात्रा शुरु गरेको पाइन्छ । उनी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनमा आवद्ध हँुदै कुची र कलमसँग खेल्दै आएका छन् । वि.सं. २०६६ माघबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रज्ञासभा सदस्य हुँदै उनी २०७१ भाद्रबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद सदस्य एवं चित्रकला विभागका प्रमुख पनि बने ।

उनले पहिलोपटक ०५२ शालमा नपोतिएका रंगहरु (गीतिसंग्रह) प्रकाशित गरेका थिए भने हालसम्म चराहरुको पहाड, आमा नदीहरु, कविताको उज्ज्यालो लगायत ९ जना पुस्तक प्रकाशित छन् । यसका साथै उनले विभिन्न कृतिहरु सम्पादन पनि गरेका छन् । उनले धेरै पटक मुलुकहरु विभिन्न भागमा एकल कविता वाचन गरेका छन् भने उनी थुप्रै पुरस्कारबाट सम्मानित पनि छन् ।

आफूलाई यही माटो र मान्छेका कवि हूँ भन्न रुचाउने श्रेष्ठ खुलेरै भन्दछन् – म रिमाल धारको कवि हूँ ।

उनले प्राप्त गरेका प्रमुख पुरस्कारहरूमा राष्ट्रव्यापी कार्टुन चित्र प्रतियोगितामा कास्य पदक २०५०, राष्ट्रिय युवा कविता महोत्सव ०५३, प्रथम शताब्दी युवा सम्मान ०५६, राष्ट्रिय प्रतिभा पुरस्कार ०५,७ गुप्तेश्वर कलासाहित्य सम्मान ०६६, गण्डकी कला उत्सव सम्मान ०७८ आदि छन् ।

पिता गोपालध्वज र माता चन्द्रकुमारी श्रेष्ठका सुपुत्र रमेश श्रेष्ठको सृजना गुरुङ्गसंग प्रेमविवाह भएको थियो । उनीहरुका सुपुत्र आदिम हुन भने छोरी अक्षता । श्रेष्ठ विभिन्न संघ, संस्थामा पनि आवद्ध छन् । पोख्रेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष श्रेष्ठ सृजनशील कलाकार समूहका संस्थापक पनि हुन् । उनले विभिन्न मुलुकमा भएको गोष्ठी, सभा सम्मेलनमा भाग लिने अवसर पनि पाए ।

सन् २०११ मा लण्डनमा भएको दोस्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिएका थिए । सन् २०१५ मा वेइजिङ चीनमा भएको कला कार्यशाला तथा प्रर्दशनीमा उनी सहभागी थिए । यसका अतिरिक्त उनी भारत, श्रीलङ्का, सिंगापुर, हङकङ, भुटान, वंगलादेश, कतार आदि मुलुक पुगेका छन् ।

आफूलाई यही माटो र मान्छेका कवि हूँ भन्न रुचाउने श्रेष्ठ खुलेरै भन्दछन् – म रिमाल धारको कवि हूँ । श्रेष्ठ स्कुल पढ्दा खेरी नै चित्र कोर्थे कविता लेख्थे । उनको विचारमा कविता भनेको अक्षरहरूको अमूल्य संयोजन हो । जसलाई चलाउन, खेलाउन उनलाई साह्रै मन पर्छ । लाग्छ उनी जीवनभर यसैमा रमाइरहने छन् । रमाइरहने छन् ।