कविताः खरानीको व्यापार

तिमीले खरानी छोएर
आगो छोए भन्छौ
खोइ कहाँ छ आगो ?

छुनु त परै जाओस्
तिमीले आगो नदेखेको वर्षौ भयो
खरानी छोएर क्रान्ति हुँदैन साथी
बन्द गर खरानीको ब्यापार

आगो लिएर हिडेका राता मान्छेहरु
शिखरको टाकुरामा छन्
परिवर्तनका सुनौला बिहानहरु
हाम्रै पाखुरामा छन्
अझै पनी
भुपु कमरेडहरुको खल्तीमा भएको चिसो अगारलाई
आगो सम्झेर सपना नदेख्नु।

अगारहरु पग्लिएर खल्ती मै चिसा भइसके
अझै पनि भुपु कमरेडहरुको पुरानो भाषण सुन्दै
आफै भित्रको कस्तुरी नभुल्नु
याद गर्नुस्
क्रान्ति छोडेका भुपुहरु संधै क्रान्तिकारी हुँदैनन्
कुनै बेला लाखौं तोकिएको टाउको मूल्य
अबको सेयर बजारमा बिक्दैन साथी
हो त्यतिबेलै लिनुपर्ने पनि लिएकै हो
दिनुपर्ने पनि दिएकै हो
जतिबेला उनीहरूको टाउकोमा गुदी थियो
आँखामा सुनौलो सपना थियो
गुदी भित्र गोबर भरिए पछि
भारी गिरावट भएको टाउकाको मुल्य
अब उच्च हुँदैन साथी
उनीहरू यात्रामा छुटी सके
पर्खिनु भनेको
भुपु कमरेडको खल्तीको खरानीको टीका लगाउनु हो
आगो लिएर हिडेका राता मान्छेहरु
शिखरको टाकुरामा छन्
परिवर्तनका सुनौला बिहानहरु
हाम्रै पाखुरामा छन्
अझै पनी
भुपु कमरेडहरुको खल्तीमा भएको चिसो अगारलाई
आगो सम्झेर सपना नदेख्नु।