झगडाको उत्तर-आधुनिक धारामा पारेको देखेर छक्क पर्नुभो होला। हो, यस्तै हुन्छ, मान्छे आधुनिक तर मन पौराणिक हुँदा। हर चिजको पौराणिक र आधुनिक हुन्छ भने झगडाको किन नहुनु? गजबले हुन्छ। तर झगडाको काल विभाजन र वर्गीकरण गर्न त्यति सजिलो हुँदैन, अलिकति यताउता भयो भने लाग्छ घमासानको झगडा। यही डरले होला आजसम्म कसैले झगडाको वर्गीकरण गर्न नसकेका। हुन त मैले फिलोसफी पढिनँ र त्यता के छ थाहा भएन। मैले देखेको कुराचाहिँ हो – निक्कै मैहुँ भन्ने भीम अथवा हर्कियुलिसले झगडाको वर्गीकरण गरेनन्, निक्कै जान्ने भन्ने कौटिल्य, मेकियाभ्यालीले गरेनन्, हम किसीसे कम नही भन्ने अलेकजेन्डर द ग्रेट वा हिटलरले गरेनन्।
यो झगडा कुन शास्त्रको विषय हो ? फिलोसोफी कि एडुकेसनमा पर्छ भन्नु भन्दा पनि कहाँ पर्दैन भन्नुचाहिँ उचित होला। झगडा सर्वशक्तिमान, सर्वत्र विराजमान, सर्वकाल दृश्यमान एक अदृश्य अमर कायाँ हो, स्वयम् ईश्वरको छायाँ हो जसको महिमा भगवानले पनि बुझेनन् र सधैँ असुरसँग झगडा गरेर जुनी बिताए र आज अन्तर्द्धान भए। यही रिसले होला सन् १८८२ मै जर्मनेरी दार्शनिक नित्सेले ईश्वरको मृत्यु घोषणा गरेका हुन्। तर समय बहुत निष्ठुर हुन्छ। यसले कसलाई कहिले के दायित्व दिन्छ कसैले भन्न सक्तैन। समयले मलाई आज झगडाको बारेमा लेख्न भन्यो र म पनि ठुलै साहित्येकार, दार्शनिक भएछु भनेर फुरुक्क परेर हुरक्क भएर लेख्न बसेँ। जे पर्ला पर्ला परेपछि टर्ला। कि मेरो जित होला कि समयले मलाई न्याँक्ला। थालेँ लेख्न।
झगडाको सृष्टि र विकास कहिले भएको हो भन्ने विषयमा विज्ञान मौन छ। इतिहासले झगडै झगडाका कुरा लेख्यो, तर झगडाको ‘डेट अफ वर्थ’ न इतिहासले तोक्यो न ज्योतिषले यसको नक्षत्र निकालेर चिना बनाउन सक्यो। त्यसैले कोही ठोकुवा दिएर यसको जन्मको समय भन्न खोज्दैनन्। तर यसमा टाउको दुखाउनु के छ? पढ्न शास्त्र। अलिक दिमाग लगाओ सब कुरो दुधको दुध पानीको पानी हुनेछ।
झगडाको सृष्टि पृथ्वीको सृष्टिसँगै भएको हो। यो कुरो पक्का हो, यसमा कुनै छक्का पन्जा भएको छैन। विष्णुका कानेगुजीबाट निस्किएका मधु र कैटवसँगको झगडा नै विश्व ब्रह्माण्डको पहिलो झगडा हो। झगडाका आदिपुरुष यिनै मधु-कैटव हुन्। मधु-कैटव मरे। तर झगडा मरेन, झन् बढ्यो। ईश्वरको हातमा मरेका यी मधु र कैटव स्वर्गै पुगे कि नर्कमा जाकिए कतै उल्लेख छैन। गाउँघरमा जिउँदै स्वर्ग र नर्क देखेर आएका, स्वर्गको वर्णन दुरुस्तै दिन सक्ने मान्छेको भरमार छ, तर उनीहरूलाई यी दुइटाको बारेमा थाहा छैन। यो स्वर्ग र नर्कको अवस्थिति देखाउन गुगल बाबा पनि फेल। हामी मनुष्येका कुरा त परै जाओस्। तर पनि हामी स्वर्गमा एउटा सिट बुक गर्न अनेक कार्यक्रम गर्छौँ अनि मर्न डराउँछौँ।
संसारका कुनै पनि धर्म शास्त्र पढ्नु होस्, झगडा त छँदै छ। रामायणमा छ, महाभारतमा छ, भागवतमा छ, कुरानमा छ , बाइबेलमा छ। यसले झगडा पृथ्वीको पुरानो रैथाने नागरिक हो भन्ने प्रमाण दिन्छ। हिजोआज यी कुरा नबुझेर एउटा धर्मका मान्छे अर्को धर्मकासँग पाखुरा सुर्किन्छन्, अर्काको धर्मलाई जति गाली गर्न सक्यो त्यति आफू धार्मिक भन्ने सम्झिन्छन्। हुन त धर्मको यो झगडा मध्ययुगमै आठ सय वर्षसम्म्म चलेको हो, क्रुसेदको नाउँमा। आज पनि छ। धर्म रहुञ्जेल झगडा रहन्छ। बरु पापी नास्तिकेले पो धर्मका नाममा झगडा गर्दैनन्।
यो भयो झगडाको जन्म वृतान्त र विकास प्रक्रियाको छोटो कैरन। अब समयको गतिसँगै झगडाको गति र प्रवृत्ति बदलियो। यसको धारा र शैली बदलिए। आयाम र संरचना बदलियो। बिम्ब र प्रतीक बदलिए। रूपक अलङ्कार बदलियो र झगडाले आफ्नो स्वरूप बदलाएर चिनिनसक्नु भयो। झगडै हो कि पिरती हो। अनि यो पिरती भन्ने पनि चाउरे र पोटिलो हुँदो रहेछ। चाउरे पिरती भनेको झगडाको पाठे घर अरे।
सम्झिनुहोस् त तपाईँका दिनमा कस्ता झगडा हुन्थे? झगडाका विषय के हुन्थे? झगडामा प्रयुक्त भाषा कस्तो हुन्थो? झगडाले कत्तिको दर्शक-श्रोता र अश्रोताका(जो झगडा सुन्न र देख्न चाहँदैन तर, सुन्छ र देख्छ) मनमा उत्कण्ठा जोगाउँथ्यो र कस्तो परिणाम हुन्थ्यो?
तपाईँका दिनमा झगडामा मुख धेर जल्थ्यो, हातपात कम हुन्थ्यो। (अभिधानले पनि झगडालाई मुख मुखै लागेको भन्ने अर्थ पनि दिँदो रहेछ।) अर्थात, तपाईँका दिनमा झगडाको कथानकलाई संवादले अघि बढाएर लान्थ्यो। उच्चसोरमा संवाद प्रक्षेप गरिन्थो। भाषा आञ्चलिक हुन्थ्यो। सालीनता जति नाघ्न सक्यो झगडा त्यति उत्कृष्ट हुन्थ्यो। सक्तो छाडा बोल्थे। भक्कु सराप्थे। “पखाला चलेर म….रिजा”, “तेरा बाउलाई भोलि बिहानै हरिया बाँसमा टुँ…. पार्दै लगून्” ” कालले लान नसकेको”,यस्ता यस्ता संवाद हुन्थे। परिणाम अमिमांशित हुन्थ्यो। आफ्ना लागि ट्रेजिक, दर्शकका लागि कमिक। झगडा सकिएर घर गएर, खाना खाएर सुतेपछि पनि ओछ्यानमा “बज्जियाको छोरो”, “राँडाको छोरो”, “तातो भुतभेते खनिएर मरोस्” भनेर एक्लै फतफताउँथे। त्यसबेला झगडाका कारण सामान्य हुन्थे – बाख्रा-गाई, धारो-पानी, साँध-सिमानाका रुख-पात यस्तैउस्ता चानचुने। यो भयो झगडाको प्राथमिककालको अन्तिम सतकको प्रवृत्ति।
हिन्दी सिनेमाको आगमन, ब्रुसलीको कुम्फु कराटे, फुलन देवीको आविर्भाव र गाउँमा अङ्ग्रेजीको पठनपाठन थालिएपछि झगडाले यसका प्राथमिककालीन प्रवृत्ति केही त्यागेर नयाँ प्रवृत्ति आत्मसात गर्यो। झगडामा छाडा बोलीको ठाउँ हिन्दी सिनेमाका डायलगले लियो – “अरे ओ कालिया ..”। फुलन देवीका डायलग भित्रिए। ब्रुसलीको पोज भित्रियो। ब्रुसलीका झैँ खुट्टा उचालेर किक हान्ने हुँदा कतिको आफ्नै कुइँके खुस्कियो। यस कालमा झगडाको परिणाम दुखद हुन् थाल्यो। कहिले परपीडन कहिले आत्मपीडन।
भूमण्डलीकरण, मोबाइल फोनको आगमन, फेसबुक, ह्वाट्सएप आदिको प्रचलन र हिन्दी सिरियलका अन्त्यहीन पारिवारिक कलहले नेपाली भाषाको झगडालाई आधुनिककाल अभिमुख पार्यो। आधुनिकता भित्रिएपछि झगडाको स्वरूपमा आमूल परिवर्तन आयो। श्रव्य संवादको अनुपस्थिति, मञ्चीय पात्रको सट्टा नेपथ्य पात्र, प्रतीकात्मक संवाद, मोबाइल इमोजीको व्यापक प्रयोग, दर्शक सुतेपछि झगडाको थालनी, स्थानका रूपमा मोबाइल स्क्रिन आदि परिवर्तनहरू आए र झगडा क्लाइमेक्स, एन्टी क्लाइमेक्सको क्रममा अन्त्यहीन कथानक लिएर अघिबढ्यो।
झगडा र पिरतीको सीमारेखा धुमिल हुन पुग्यो। आज झगडा, भोलि मिल्ने, पर्सि फेरि झगडा यो क्रम चल्न थाल्यो। झगडामा अति संवेदनशील पात्रहरू देखा परे। यहाँ कार्यकारण भन्दा मानसिक तनाव मूल विषय बन्यो।पात्र-पात्राको अहम, ढँटाइ र शङ्काले झगडामा प्रमुख भूमिका खेल्न थ्यालो। अर्थात झगडामा मनोविज्ञान पस्यो। अर्थात् मातृरति र पितृरतिका कुरा आए। पैसा र स्वार्थ झगडाको मूल कारकतत्त्वको रूपमा देखा पर्यो। आधुनिक झगडाका पात्र-पात्रहरूमा उमेरको सीमा रहेन। पात्रा २० त पात्र ५०, पात्रा ५० त पात्र २५ को जोडि अदृश्य मञ्चमा आउन थाले।
“ऐ बराल, बराल! के भुँडी चर्कार बसिरहेको हँ। हिन् बिहे घरतिर एकछिन्।”
लु हेर! यो आह्रिसमाने टुप्लुक्क। अब यो बाँदरले लेख्न दिने होइन। न आफू केही गर्छ र अर्कालाई गर्न दिन्छ।
“म भ्याउँदिन, लेख्तैछु, तँ जा।” मैले एकै सासमा भनिसकेँ। ऊ भित्र पस्यो।
“के लेखेको हँ? लेख्नु तेरो पेसा हो कि निसा? मुन्टो उठाउनै भ्याउँदैनस् त। तेरो के परीक्षा छ? छोड्, हिन्।”
मलाई सन्का छुट्यो। ” म जान्न, सिधा भनेँ। तँ गए जा, नगए मर।”
ऊ जङ्गिएन्। नरम स्वरले सोध्यो, ‘ के लेखेको? केमा दिन्छस्?”
“झगडा। झगडाको काल विभाजन्, प्रवृत्ति।”
“काल विभाजन? के के गरिस्?
“प्राथमिक, माध्यमिक र आधुनिक।”
“ई एई हो तिमेर्को कमी। ससांर कहाँ पुगिसक्यो तिमेरू त्यै आधुनिक कालभन्दा एक पाइलो अघि बढ्न सकेनौँ। आधुनिक काल उहिल्यै सकियो। अहिले उत्तर-आधुनिक पनि सकिएर उत्तरोत्तर आधुनिकतातिर लाग्यो। तिमेर्को मान्यता दुई मुखे छ। एकातिर तिमेरू आधुनिक जुग भन्छौ र अर्कातिर त्यही जुगलाई कलि जुग भन्छौ।” लामो भाषण छाट्यो उसले। म अरमल्ल परेँ। हो त, हाम्रो कस्तो बिडम्बना! कस्तो मान्यता। एकातिर आधुनिक युग भनेर रमाउने र अर्कातिर कलियुग भनेर मुख खुम्चाउने।
”म त उत्तर आधुनिक युगको मान्छे। उत्तर आधुनिक जुगमा लेखकको मृत्यु हुन्छ।”
“मृत्यु त सत्य युगमा थिएन र?” मैले जिज्ञासा राखेँ।
” थियो। तर उत्तर-आधुनिक अवधारणामा फ्रान्सेली समालोचक रोला वर्थ (१९६७ )ले The death of the author भनेका छन्। त्यसको अर्थ हो सिर्जनापछि लेखक मर्छ। लेखकलाई आँखाअघि उभ्याएर कृतिको मूल्याङ्कन गरिँदैन। तैँले लेखिस् तँ मरिस्।”
मैले मेरा हातगोडा छामेँ। अहँ म मरेको छैन्। “झुटो हो झुटो। लेखकले जे पायो त्यही लेख्छ त?”
अरू कुरा बढाइनँ। हो रछ। उत्तर आधुनिक झगडा मस्तिष्कको झगडा हुँदो रहेछ। हातहतियार चाहिँदो रहेनछ तर प्रभाव गहिरो। जहाँ मान्छेका समस्या र समाधानको पाटो गोली मार। जस्तो आह्रिस माने र म। जस्तो लेखक र पाठक।






