संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल ललितकला प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ । समितिको प्राज्ञसभा सदस्यमा पोखराकी फोटोग्राफर एवं फोटो पत्रकार राधिका शर्मा कंडेल प्राज्ञसभा सदस्य छिन् ।
प्रतिष्ठानले पहिलो पटक फोटोग्राफी क्षेत्रबाट प्राज्ञसभा सदस्य पाएको छ । कँडेल डेढ दशकदेखि फोटोग्राफीसँगै फोटो पत्रकारितामा संलग्न छिन् । हाल उनी राष्ट्रिय समाचार समिति र नयाँलिपि डटकममा संवद्ध छिन् । फोटोग्राफीलाई ललितकलाको मान्यता दिएर प्रतिष्ठानले सदस्य नियुक्त गरेकोमा उनी खुसी व्यक्त गरिन् ।
संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन् । प्रतिष्ठानको कूलपतिमा मूर्तिकार नारदमणि हार्तम्छाली र उपकूलपतिमा पेन्टर लालकाजी लामा छन् ।
कुलपतिले बिहीबार बिहान सपथ लिने तय छ । सदस्य सचिवमा पाल्साङ्मो लामालाई नियुक्त भएका छन् ।
प्राज्ञहरूमा प्रदीप अधिकारी, सौरगंगा अधिकारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, देवेन्द्रकुमार काफ्ले नियुक्त भएका छन् ।
२४ परिषद् सदस्यमा गण्डकी प्रदेशबाट स्याङ्जाका देवेन्द्रबहादुर काफ्ले पनि छन् ।




